काठमाडौँ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा संकट उत्पन्न भएपछि सहरी विकासमन्त्री कुलमान घिसिङ बन्चरेडाँडा ल्यान्डफिल साइट पुगेका छन् । घिसिङले आइतबार स्थानीय प्रशासन, फोहोर व्यवस्थापनसम्बन्धी अधिकारीहरू र स्थानीय प्रतिनिधिहरूसँग छलफल गर्दै समस्या समाधानको उपाय खोज्ने प्रयास गरेका छन्।

काठमाडौं महानगरपालिका र अन्य स्थानीय तहहरूबाट दैनिक झन्डै एक हजार दुई सय टनभन्दा बढी फोहोर उत्पादन हुने उपत्यकामा सिसडोल ल्याण्डफिल्ड साइटको क्षमता सीमित हुँदै गएपछि बञ्चरेडाँडा वैकल्पिक स्थलको रूपमा विकास गरिएको थियो।

तीन वर्षअघि काठमाडौं महानगरपालिकाले पूर्वाधार, वातावरण र त्यस क्षेत्रको विकासलगायतका विषयमा १८ बुँदे सहमति गरेको थियो । तर अहिलेसम्म कार्यान्वयन नभएपछि बिहीबारदेखि स्थानीयले फोहोर व्यवस्थापनमा रोक लगाएका हुन् । स्थानीयको विरोधका कारण फोहोर व्यवस्थापन प्रभावकारी हुन सकेको छैन। सयौं ट्रक अलपत्र परेका छन् ।

अनुगमनका क्रममा मन्त्री घिसिङले फोहोर विसर्जनको प्रक्रिया, वातावरणीय प्रभाव, र स्थानीयहरूको मागबारे विस्तृत जानकारी लिएका छन्। स्थानीयहरूले फोहोरका कारण माटो र पानी प्रदूषित भएको, स्वास्थ्य जोखिम बढेको र सडक अवरोध भइरहेका गुनासो गर्दै आएका छन्।

मन्त्री घिसिङले अनुगमनपछि फोहोर छुट्याउने प्रक्रिया कडाइका साथ लागू गर्न, स्थानीयहरूसँग भएका सहमति कार्यान्वयन गर्न, र फोहोर व्यवस्थापनलाई दीगो बनाउन आवश्यक पूर्वाधार निर्माणमा जोड दिने प्रतिबद्धता जनाएका छन्। तर स्थानीयले भने काठमाडौंका मेयर बालेन्द्र साह बालेनलाई खोजेका छन् । बालेनसँगको बैठकपछि मात्र कुराकानी गर्न तयार भएको उनीहरूले जनाउ दिएका छन् ।

तीन चार महिनाअघिसम्म बालेन ल्यान्डफिल साइट जाने र वनभोज गरेर फर्किने गरेको स्थानीय अमृत लामाले बताए । उनका अनुसार बालेन अहिले कसैकाे सम्पर्कमा आउन चाहेका छैनन् । बालेन अहिले फेसबुकमा स्टाटस लेखेर बसेका छन् । स्थानीयले बालेनसँग अन्तर्वार्ता ल्याउनेलाई एक लाख पुरस्कारको समेत घोषणा गरेका छन् ।