काठमाडौँ । गएको भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानमा भएको क्षतिको मूल्याङ्कन गर्न तथा पुनर्निर्माण योजना तयार गर्नका लागि अध्ययन गर्न ४४ जिल्लामा ३८ वटा टोली परिचालन भएका छन् ।

राष्ट्रिय योजना आयोगका सहायक प्रवक्ता डा. दिवाकर लुइँटेलका अनुसार अबको हप्ता र १० दिनभित्र सबै क्षतिको विवरण सङ्कलन गरिसक्ने गरी टोली परिचालन गरिएको हो ।

ADVERTISEMENT

तथ्याङ्क सङ्कलनमा एकरूपता तथा सहजताका लागि आयोगले ‘क्षति मूल्याङ्कन सर्वेक्षण पोर्टल’ समेत सञ्चालन गरेको र सम्बन्धित पालिका तथा प्रदेश र सङ्घका कार्यालयले अनलाइनमार्फत क्षतिको विवरण पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

क्षति पुगेका ४४ जिल्लाका पालिका, प्रदेश र सङ्घीय सरकारका विषयगत मन्त्रालय एवम् केन्द्रीय निकायलाई ‘युजरनेम’ र ‘पासवर्ड’ उपलब्ध गराइएको छ ।

ADVERTISEMENT

सङ्कलित तथ्याङ्क तथा विवरण सर्वेक्षण पोर्टलमा राख्नुपर्ने सहायक प्रवक्ता लुइँटेलले बताए । पर्सि आइतवारसम्म सबै टोली कार्यस्थलमा पुगिसक्ने र एक हप्ताभित्र तथ्याङ्क सङ्कलन गरिसक्ने लुइँटेलको भनाइ छ ।