काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र यूएईबिच बिहीबार खेल हुँदैछ । दुबईस्थित आईसीसी एकेडेमीमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।
सिरिजअन्तर्गत दुवै टोलीले दोस्रो खेल खेल्न लागेका हुन् । पहिलो खेलमा दुवै टोली अमेरिकासँग पराजित भएका थिए । एकदिवसीय अन्तर्राष्ट्रियमा कमजोर फर्ममा रहेका दुवैका लागि यो खेल पुनरागमन गर्ने अवसरसमेत हो।
नेपालले पछिल्लो खेलमा अमेरिकासँग १०६ रनले पराजित भएको थियो। यूएई पनि अमेरिकासँग चार विकेटको हारपछि यस खेलका लागि प्रतिस्पर्धामा उत्रिन लागेको हो।
नेपाल र यूएईले हालसम्म एक अर्काविरूद्ध नौ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेकोमा नेपालले चार र यूएईले पाँच खेल जितेको छ। नेपाल हाल लिग–२ को अंक तालिकामा सातौं स्थानमा छ।
१७ खेलमा ५ जित र १० हार व्यहोरेको नेपालको १२ अंक छ। समान खेलमा मात्र ३ जित हात पारेको यूएई ६ अंकसहित पुछारमा छ।
नेपालको टोलीमा आज कुनै परिवर्तन गरिएको छैन । अमेरिकाविरुद्धको प्लेइङ ११ नै मैदानमा उतार्ने भएको छ । टोलीमा रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आशिफ शेख, भीम सार्की, आरिफ शेख, गुल्शन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी छन् ।






