काठमाडौं । सरकारले आगामी माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ११ गते राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि निर्वाचन र राष्ट्रपतिको कतार भ्रमण स्वीकृत गरेको हो ।

हरेक दुई–दुई वर्षमा राष्ट्रिय सभाको रिक्त पदका लागि निर्वाचन हुन्छ । जसमा प्रदेश सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्दछन् । आगामी फागुन २० गते १९ जना राष्ट्रिय सभा सदस्यको पद रिक्त हुँदैछ । पद रिक्त हुनु एक महिनाअघि नै राष्ट्रिय सभा सदस्यकाे निर्वाचन भइसक्नु पर्ने संविधानमा व्यवस्था छ ।

ADVERTISEMENT

कतारको दोहामा आयोजना हुने ‘सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलपमेन्ट’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा कात्तिक १७ देखि २० गतेसम्म हुने औपचारिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।

त्यस्तै, बैठकले नेपाल सरकारले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची– २ मा हेरफेर गर्ने निर्णय गरेको छ । संसद् सचिवालयको दरबन्दी घटाउने अनुसूची संशोधन गरिएको हो ।

ADVERTISEMENT

बैठकले नेपाल र मौरिससबिच भएको दोहोरो कर मुक्ति सम्झौता अन्त्य गर्ने निर्णय पनि गरेको छ । यस्तै, छापाखाना र प्रकाशनसम्बन्धी दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गरेको छ ।