काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठी माताको पूजा आराधना गरेका छन् । पत्नी सबिता पौडेलका साथ उनले पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिरअघि बाग्मती किनार गौरीघाटमा तयार गरिएको छठ पूजास्थलमा पुगेर सोमबार पूजा अर्चना गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
राष्ट्रपति पौडेल र प्रथम महिला पौडेलले पूजास्थलमा अस्ताउँदो सूर्यलाई अर्घदान गरेका थिए ।
राष्ट्रपति पौडेल गुहृेश्वरीमा पुग्दा राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनी, पशुपति विकास कोषका पदाधिकारी, काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष आशामान संगत, छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए ।
छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिन राजधानीका अन्य स्थानका साथै यहाँको छठ घाट पनि सजाइएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाटलगायत राजधानीका अन्य स्थानलाई पनि सजाउने गरिन्छ । यहाँको साजसज्जा हेर्न भक्तजनको घुइँचो लागेको छ । भजन एवं भक्ति संगीतले पशुपति क्षेत्रको वाग्मती नदी किनारको वातावरण मेलामय बनेको छ ।
यस वर्ष राजधानीमा गुह्येश्वरीबाट गौरीघाटसम्मको बागमती नदी किनारको दायाँबायाँ, कमलपोखरी, थापाथली, कुपण्डोल, सानेपास्थित रामतीर्थलगायत स्थानका नख्खु खोला, विष्णुमती र बागमती नदी किनारमा छठघाट निर्माण गरी सजाइएको छ । यी स्थानमा छठघाटसँगै छठी माताको माटाको मूर्ति निर्माण गरिएको छ । जहाँ आज अस्ताउँदो सूर्यसँगै छठी माताको पूजा आराधना गरिन्छ ।







