काठामाडौं । नेपाल संवत ११४४ को अवसरमा बसन्तपुरमा भिन्तुना र्याली निकालिएको छ । धिमेलगायत परम्परागत बाजाका साथै नेवारी पहिरनमा सजिएर नयाँ वर्षको न्हु दँया भिन्तुना (शुभकामना) र्यालीसहित कार्यक्रम गरिएको छ ।
कात्तिक शुक्ल पक्षदेखि नेपाल संवतको नयाँ वर्ष सुरु हुन्छ। नेपाल संवत् चन्द्रमासमा आधारित छ । लिच्छविकालमा कुन संवत् चलनचल्तीमा थियो, त्यसबारे समान धारणा पाइन्न । लिच्छविकालपछि भने हाम्रोमा नयाँ संवत् चलनचल्तीमा आएको देखिन्छ ।
लक्ष्मीपूजाको भोलिपल्ट नेपाल संवत् सुरु हुन्छ । सांस्कृतिक दृष्टिकोणले नेपाल संवत् सुरु भएको दिन नेवार समुदायमा ‘म्हःपूजा’ गर्ने विशिष्ट सांस्कृतिक परम्परा छ ।
म्हःपूजा नेपाल भाषाको शब्दावली हो र यसको अर्थ हुन्छ, शरीर पूजा । म्ह अर्थात् शरीर । नयाँ वर्षको पहिलो दिन आफ्नै शरीर पूजा गर्ने परम्परा आफैंमा विशिष्ट र मौलिक रहेको छ । यसलाई विशेषतः काठमाडौं उपत्यकाका भक्तपुर र ललितपुरमा उत्साह र भावनाले मनाइने गरिन्छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी






