काठमाडौं । कामना सेवा विकास बैंकका अध्यक्ष सुदीप आचार्यले पद तथा गोपनीयताको सपथ लिएका छन् । मंगलबार उनले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
बैंकको गत शुक्रवार सम्पन्न १९औं वार्षिक साधारणसभावाट सञ्चालकमा निर्वाचित आचार्यलाई सोही दिन वसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा चयन गरेको थियो । बैंक तथा वित्तीय संस्थासम्वन्धी ऐनमा निर्वाचित अध्यक्षले नेपाल राष्ट्र बैंकसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुपर्ने व्यवस्था छ ।
सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, वित्तीय संस्था सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक सत्यन्द्र तिमिल्सिना, विकास बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थिति थियो ।
बैंकको शुक्रवार सम्पन्न १९औं वार्षिक साधारणसभावाट संस्थापक समूहअन्तर्गत सुदीप आचार्य, भीमप्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण समूहअन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवनकुमार शर्मा निर्विरोध निर्वाचित भएका थिए ।








