काठमाडौँ । सगरमाथा आरोहण र त्यसक्रमको प्रेमकथामा आधारित नेपाली चलचित्र ‘जेरी अन टप’ आगामी असोज ३१ गतेदेखि प्रदर्शन हुने भएको छ । प्रस्तुतकर्ता सरोज न्यौपानेले युवापुस्ताको कथामा नेपालको सौन्दर्य देखिने एउटा स्तरीय चलचित्र बनाउने कोसिस गरेको बताए ।

‘हामीले नेपालको सौन्दर्यलाई चलचित्रमा प्रस्तुत गरेका छौँ, चलचित्रको मुख्य पात्रले सगरमाथा आरोहण गर्ने क्रममा निम्तिने घटनाक्रम देखाइएको चलचित्रले पर्यटनमा टेवा पु¥याउने अपेक्षा लिएको छु, नेपाली चलचित्र भनेर गौरव गर्न मिल्ने गरी हामी सबैले मेहनत गरेका छौँ,’ उनले भने ।

ADVERTISEMENT

न्यौपानेले चलचित्र असोज ३१ गतेदेखि नेपालसँगै अस्ट्रेलिया, अमेरिका, क्यानाडालगायत देशमा प्रदर्शन हुने जानकारी दिए ।

चलचित्रका अभिनेता भुवन केसीले नेपालीको सुन्दरता र नेपाली विषयवस्तुको राम्रो मिश्रण ‘जेरी अन टप’ मा रहेको बताए । ‘मैले चलचित्रमा लामो समय बिताएको छु, कलाकार, निर्माता र निर्देशकका रुपमा काम गरेको अनुभवले पनि यो चलचित्रलाई नेपालीभन्दा गौरव लाग्छ, सम्पूर्ण सदस्यको मेहनतले यो एउटा अन्तर्राष्ट्रियस्तरको चलचित्र बनेको छ’, उनले भने ।

ADVERTISEMENT

चलचित्रमा अभिनेता केसीसँगै अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे, उषा खड्गीलगायत कलाकारले अभिनय गरेका छन् ।

अभिनेत्री शर्माले चलचित्रमा आफूले ‘श्रेया’ नामक पात्रको भूमिका निर्वाह गरेको जानकारी गराँदै आफ्नो राम्रो चलचित्र मध्येको एक रहेको बताइन् । ‘मैले यो चलचित्रमा निकै मेहनत गरेकी छु र मेरो कलाकारिताकै एउटा राम्रो र स्तरीय चलचित्र बनेको भन्न सक्छु, हामी अभिनेत्रीलाई पर्दामा राम्री देखिउ भन्ने लाग्छ, यसमा एउटा अभिनेत्रीले सपना देख्ने सम्पूर्ण इच्छा पूरा भएको छ’, उनले भनिन् ।

अनन्या फिल्म्स प्रोडक्सनबाट निर्मित ‘जेरी अन टप’ लाई सुयोग गुरूङले निर्देशन गरेका छन् । चलचित्रमा हेमराज विसीले कथा लेखन, विश्वास तिम्सिनाले पटकथा लेखन र दुलिप रेग्मीले छायांकन गरेका छन् ।