काठमाण्डौ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले नेपालको पश्चिमी भू–भागबाट यस वर्षको मनसुन बाहिरिए पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले सोमबार मनसुन बाहिरिए पनि पश्चिमी वायुको प्रभावका कारण विशेषगरी आज र भोलि कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराईका भू–भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो ।

ADVERTISEMENT

महाशाखाका अनुसार अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको र ती प्रदेशका १र२ ठाउँमा हल्का वर्षासमेत भइरहेको छ । यी प्रदेशका हिमाली भू–भागका थोरै ठाउँमा हल्का हिमपातसमेत हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

विशेषगरी कृषि र पर्यटन क्षेत्रमा प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाको आग्रह छ । विभागका अनुसार ४ दिन ढिला गरेर नेपालबाट मनसुन बाहिरिन थालेको छ । नेपालबाट मनसुन सामान्यतया अक्टोबर २ तारिखमा बाहिरिने भए पनि यसपालि केही ढिला भएको हो ।

ADVERTISEMENT

महाशाखाका मौसमविद् रोजन लामिछानेले प्रायः मनसुन बर्हिगमन हुने समयमा सक्रिय हुने गरेको जानकारी दिए । ‘सामान्यतया अक्टोबर २ तारिखमा मनसुन बाहिरिने गर्छ तर कहिलेकाहीँ लम्बिन पनि सक्छ’, लामिछानेले भने ।