पाँचथर, तमोर कोरिडोरअन्तर्गत पाँचथरको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा शनिबार जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने अन्य ६ जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा तीन पुरुष र तीन महिला रहेको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो। ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवाबाट धरानका लागि छुटेको मे१ज ३०५५ नम्बरको जिप दिउँसो करिब १२ बजे दुर्घटनामा परेको थियो।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार जिप कुम्मायक गाउँपालिका–३ रानीगाउँस्थित कात्तिकेमा सडकबाट करिब तीन सय मिटर तल खसेको हो। चालकसहित १२ जना यात्रु सवार जिपमध्ये ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
अन्य ६ घाइतेहरूलाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी थप उपचारका लागि धरानतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी खेमराज घिमिरेले जानकारी दिनुभयो।
घटनास्थलमा अझै उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप विवरण संकलन भइरहेको र घाइते तथा मृतकहरूको नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ।






