काठमाडौं । सर्वोच्च अदालतबाट अल्पकालीन अन्तरिम आदेश पाएसँगै शरद ओझाले नेपाल बिमा प्राधिकरणमा अध्यक्षका रूपमा हाजिर गरेका छन् । उनी मंगलबार कुपन्डोलस्थित प्राधिकरणको कार्यालयमा हाजिर भएका हुन् ।

गत फागुन १२ मा प्राधिकरणको अध्यक्षमा नियुक्ति गरेको सरकार आफैँले भदौ २ मा योग्यता नपुगेको भन्दै उनलाई बर्खास्त गरेको थियो । त्यसपछि आफ्नो बर्खास्तीविरुद्ध ओझा सर्वोच्चमा गएका थिए । त्यसमा सर्वोच्च अदालतले गत भदौ २३ मा अल्पकालीन अन्तरिम आदेश दिएको थियो । त्यसको लिखित आदेश आएसँगै ओझा मंगलबार प्राधिकरणमा हाजिर हुन गएका हुन् ।

ADVERTISEMENT

अल्पकालीन आदेशको म्याद आगामी २६ असोजसम्म रहेको छ । सो समयभित्र सर्वोच्चले अन्तरिम आदेशका लागि सुनुवाइ हुनेछ । अन्तरिम आदेश आएको अवस्थामा ओझा पुनर्बहाली हुनेछन् । अन्यथा उनी पुनर्बहाली हुने छैनन् । तर, अल्पकालीन अन्तरिम आदेश आएको समयमा हाजिर भएको विषय विवादित भएको छ ।

ADVERTISEMENT

सर्वोच्चकै अल्पकालीन अन्तरिम आदेशअनुसार नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया पनि यथास्थितिमा रोकिएको छ । नेपाल बिमा प्राधिकरणको अध्यक्ष बन्न १४ जनाले आवेदन दिएका छन् । भदौ ९ को मन्त्रिपरिषद्ले आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा गठन गरेको सिफारिस समितिले भदौ १४ मा सात दिनको म्याद राखेर प्रस्ताव आह्वान गरेको थियो । त्यसमा अन्तिम दिन अर्थात् भदौ २१ सम्म १४ जनाले प्रस्ताव पेस गरेका छन् ।