काठमाडौं । जेनजी आन्दोलनका कारण सरकारले यस वर्ष दशैंका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ नखुलाउने भएको छ ।

मंगलबार यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीहरुबीच भएको छलफलमा विषम परिस्थितिका कारण अग्रिम टिकट बुकिङ नखुलाउने सहमति भएको हो ।

ADVERTISEMENT

महासंघले सडकको अवस्था हेरेर मात्रै दशैंका लागि अग्रिम बुकिङ खुला हुने जनाएको छ । विभागमा भएको छलफलमा मुलुकका विभिन्न स्थानमा सडक पूर्ण रूपमा सञ्चालन हुन नसक्दा बाहिरदेखि सार्वजनिक यातायात उपत्यका आउन समय लागेकाले अग्रिम टिकट बुकिङ खुलाउन समस्या भएको महासंघले जनाएको हो ।

ADVERTISEMENT

विश्वविद्यालय, कलेजहरू बिदा हुने र उनीहरुको घर जाने क्रम सुरु भइसकेकाले यस वर्ष दशैंलाई लक्षित गरेर अग्रिम टिकट बुकिङको व्यवस्था नगर्ने निर्णयमा पुगिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले बताए ।

उनले दशैंका लागि घर जानेहरूले तीन चार दिन अगाडि नै बसको टिकट लिने व्यवस्था मिलाइएको पनि जानकारी दिए । अग्रिम टिकट प्रणालीभन्दा पनि सवारी साधनको उपलब्धताका आधारमा टिकट काट्ने व्यवस्था गरिएको उनको भनाइ छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले चाडपर्वमा यात्रुहरूको सहज ढंगले गन्तव्यमा पुर्याउने गरी सम्बद्ध सबै पक्षसँग छलफल गरिएको बताए ।

चाडपर्व नजिकिँदै जाँदा उपत्यका बाहिरिने यात्रुको चाप अहिलेदेखि नै बढ्न थालेको छ । गत वर्ष घटस्थापनादेखि मात्र चाप बढ्ने गरेकामा यस वर्ष भने अघिदेखि नै यात्रुहरू गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार पछिल्लो तीन दिनमै करिब चार लाख यात्रुले उपत्यका छाडेका छन् ।

यातायात व्यवस्था विभागले चाडपर्वमा यात्रुहरूको सुरक्षित र सहज आवागमनका लागि तयारी गरेको जनाएको छ । मंगलबार विभागमा भएको छलफलमा महानिर्देशक पोखरेलले सडकमा अवरोध हुन नदिन सडक विभागसँग सहकार्यमा डोजरको व्यवस्था गरिने र यात्रु सहायता कक्ष तथा भाडादरका बोर्ड राखिने जानकारी दिए ।

अग्रिम टिकट बुकिङ सम्बन्धमा छलफल
काठमाडौँ, ३१ भदौः यातायात व्यवस्था विभागले मीनभवनमा मङ्गलबार दसैँका लागि यातायात सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने विषयमा सरोकारवालासँग छलफलमा गर्दै । तस्बिरः हरिराम भेटुवाल÷रासस