काठमाडौं । भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
पशुपति आर्यघाटमा मंगलबार गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङले राष्ट्रिय झण्डा ओढाएर उनीहरूको सम्मान गरेका हुन् ।
मृतकका परिवारका सदस्य र आफन्तहरूले शवयात्रासहित शव आर्यघाट पुर्याएका थिए । आर्यघाटमा मृतकका शवलाई सुरक्षा निकायले सलामीसहित सम्मान पनि गरेको छ ।
त्रिवि शिक्षण अस्पतालबाट सुरू भएको शवयात्रा चक्रपथ हुँदै अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिएको थियो । सरकारले आन्दोलनमा ज्यान गुमाउनेहरूलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र उनीहरूको सम्मानमा असोज १ गते राष्ट्रिय शोक बिदा दिने निर्णय गरेपछि पीडित परिवार अन्त्येष्टिका लागि सहमत भएका हुन् । मंगलबार आर्यघाटमा ६ जनाको सामूहिक अन्त्येष्टि गरिएको थियो । चारवटा शव भने हेलिकोप्टरमार्फत जिल्ला लगिएको छ ।
भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध युवाहरूले गरेको प्रदर्शन हिंसात्मक बन्दा ७२ जनाको मृत्यु भएको थियो । मृतक अधिकांशको गोली लागेर ज्यान गएको थियो भने केहीका शव जलेको अवस्थामा फेला परेका थिए । पहिलो दिन भदौ २३ गते १९ जना मारिएका थिए । त्यसको भोलिपल्ट भने अकल्पनीय मानवीय भौतिक क्षति भएको थियो ।







