काठमाडौँ । अनलाइन सट्टेबाजीसँग सम्बन्धित सात हजारभन्दा बढी एप र वेबसाइट बन्द गरिएको छ। सरकारको शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयन गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँग समन्वय गरी यस्तो कदम चालेको हो।
प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइट पहिचान गरी बन्द गर्न सेवा प्रदायकलाई निर्देशन दिइएको हो। उनका अनुसार हालसम्म सात हजारभन्दा बढी यस्ता वेबसाइट र एप बन्द गरिसकिएको छ।
पछिल्लो एक सातामै अनलाइन सट्टेबाजीसम्बन्धी ५० भन्दा बढी गुनासा विभिन्न माध्यमबाट प्राप्त भएको जनाउँदै ती सबैलाई सम्बोधन गर्दै कारबाही अघि बढाइएको उनले बताए।
मन्त्रिपरिषद्को चैत १३ गतेको निर्णयअनुसार शासकीय सुधारका एक सय कार्यसूचीमध्ये सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने व्यवस्था गरिएको थियो। सोहीअनुसार विद्युतीय माध्यमबाट सञ्चालन भइरहेका सबै पहिचान भएका प्लेटफर्महरू तत्काल बन्द गरिएको हो।
कानुनी रूपमा पनि सट्टेबाजी निषेधित छ। मुलुकी अपराध संहिता, २०७४ अनुसार सट्टेबाजी गर्न वा गराउन पाइँदैन। उल्लङ्घन गरेमा प्रयोग भएको रकम जफत हुनुका साथै एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रावधान छ।
सरकारले सर्वसाधारणलाई यस्ता एप वा वेबसाइट प्रयोग नगर्न आग्रह गर्दै अनधिकृत गतिविधिमा संलग्न भए कडा कारबाही गरिने चेतावनी दिएको छ। साथै शङ्कास्पद गतिविधिबारे सम्बन्धित निकायमा जानकारी गराउन पनि अनुरोध गरिएको छ।











