दोहा । दोहामा हमासका सदस्यहरूमाथि इजरायली आक्रमणको प्रतिक्रियामा बोलाइएको आपतकालीन शिखर सम्मेलनको पूर्वसन्ध्यामा कतारका प्रधानमन्त्रीले आइतबार अन्तर्राष्ट्रिय समुदायलाई ‘दोहोरो मापदण्ड’ अस्वीकार गर्न र इजरायललाई जवाफदेही बनाउन आग्रह गरेका छन् ।
इजरायलको घातक आक्रमणले आलोचनाको लहर सुरु गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले असन्तोष प्रकट गरे पनि समर्थन देखाउन विदेशमन्त्री मार्को रुबियोलाई इजरायल पठाएका छन् ।
अरब र इस्लामिक नेताहरूको सोमबार हुने आपत्कालीन भेलाले खाडी मुलुकबीच एकताको प्रदर्शन गर्ने अपेक्षा छ । यसले गाजामा युद्ध र मानवीय संकट अन्त्य गर्न बढ्दो आह्वानलाई थप बल दिन खोज्नेछ ।
‘अन्तर्राष्ट्रिय समुदायले दोहोरो मापदण्ड प्रयोग गर्न रोकिनुपर्ने र इजरायलले गरेका सबै अपराधका लागि सजाय दिनुपर्ने समय आएको छ’, प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले तयारी बैठकमा भने । उनले गाजामा इजरायलको उन्मूलन युद्ध सफल नहुने दाबी गरे । ‘इजरायललाई निरन्तरता दिने प्रमुख कारण मौनता र अन्तर्राष्ट्रिय समुदायको कमजोरी हो’, उनले भने ।
सोमबारको शिखर सम्मेलनमा इरानका राष्ट्रपति मसुद पेजेस्कियान, इराकका प्रधानमन्त्री मोहम्मद सिया अल–सुदानी र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान सहभागी हुने अपेक्षा छ । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास आइतबार नै दोहा पुग्नुभएको छ । तर साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमान उपस्थित हुने कि नहुने स्पष्ट छैन ।
कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीका अनुसार बैठकमा ‘कतार राज्यमा इजरायली आक्रमणसम्बन्धी मस्यौदा प्रस्ताव’ मा विचार गरिनेछ ।
टर्कीका विदेशमन्त्री हाकान फिदानले भने, ‘अब इजरायलको व्यवहार केवल प्यालेस्टाइन–इजरायलको मुद्दा मात्र होइन, यो क्षेत्रकै सबैभन्दा ठूलो समस्या इजरायली विस्तारवाद हो ।’ उनले अरब र इस्लामिक मुलुकहरूलाई एकताबद्ध भएर नयाँ आधारमा समाधान खोज्न आग्रह गर्नुभयो ।
हार्वर्ड मिडल इस्ट इनिसिएटिभकी एल्हाम फक्रोका अनुसार खाडी राष्ट्रहरूले सम्मेलनमार्फत वासिङ्टनलाई इजरायलमा दबाब दिन आह्वान गर्नेछन् ।
फ्रान्सको साइन्सेज पो युनिभर्सिटीका करिम बितरले अरब र मुस्लिम नेताहरूका लागि यो ‘लिटमस टेस्ट’ हुने बताए ।
कतारले यस क्षेत्रमा सबैभन्दा ठूलो अमेरिकी सैन्य आधार राखेको छ र अमेरिकासँगै इजिप्टसँग मिलेर इजरायल–हमास युद्धमा मध्यस्थताको प्रमुख भूमिका खेलेको छ ।






