वीरगञ्ज । जेनजीको प्रदर्शन र आन्दोलनका कारण देशमै सबैभन्दा धेरै राजस्व संकलन गर्ने वीरगञ्ज भन्सार कार्यालयको सेवा प्रवाह दुई दिन ठप्प हुँदा अर्बौं राजस्व गुमेको छ ।
दैनिक औसतमा ७२ करोड राजस्व संकलन गर्ने कार्यालयको गत मंगलबार र बुधबार दुई दिन राजस्व संकलन लगभग ठप्प भयो । बिहीबारदेखि भने अत्यावश्यक पेट्रोलियम पदार्थ र औषधिजन्य वस्तुको भन्सार जाँचपास प्रक्रिया सुरु भएको छ ।
भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले आन्दोलनका कारण कार्यालयमा मानवीय र भौतिक क्षति नभएकाले काम गर्न सहज भएको बताए । ‘जेनजी समूहको प्रदर्शन र आन्दोलनका कारण मंगलबार र बुधबार दुई दिन भन्सार जाँचपासको काम लगभग ठप्प जस्तै रह्यो’, उनले भने, ‘बिहीबार भने अत्यावश्यक पेट्रोलियम पदार्थ, ग्यासका बुलेट र औषधिजन्य पदार्थको जाँचपासको काम भएको छ । बिहीबार मात्रै करिब १० करोड भन्सार राजस्व संकलन भएको छ ।’
ज्ञवालीले शुक्रबार बिहानदेखि अत्यावश्यक वस्तुको जाँसपास प्रक्रिया अघि बढाइएको जानकारी दिए । पहिलेकै अवस्थामा फर्किन केही समय लागे पनि नियमित काम गरिने उनले बताए ।
ज्ञवालीले शुक्रबारदेखि भने अत्यावश्यक सामान, बारा र पर्सामा जाने औद्योगिक वस्तु तथा सामानको पनि भन्सार जाँचपास प्रक्रिया अघि बढाइने जानकारी दिए।
‘स्थानीय प्रशासनले जाँचपास भएका मालवाहक सवारीसहितको समानलाई लैजाने सुरक्षा प्रत्याभूति गर्छ भने हामीले सबै खालका सामान पठाउन तयार छौँ’, उनले भने, ‘अहिले भन्सार कार्यालयमा केही आपूर्तिकर्ता आ–आफ्नो मालसमानको भन्सार जाँचपास प्रक्रिया अघि बढाउन आइरहनुभएको छ ।’
भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई गत आव २०८१\८२ मा दुई खर्ब १८ अर्ब ९५ करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो, तर लक्ष्यको ८० दशमलव ३५ प्रतिशत अर्थात् एक खर्ब ७५ अर्ब ९३ करोड राजस्व संकलन गरेको थियो । कार्यालयले अघिल्लो आव २०८०/८१ मा भने दुई खर्ब ४५ अर्ब ८८ लाख ५० हजार ८१ हजार राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । त्यस अवधिमा एक खर्ब ५७ अर्ब ४० करोड ३१ लाख २८ हजार रकम मात्र राजस्व सङ्कलन भएको थियो ।





