काठमाडौं माइतीघरबाट सुरु भएको ‘जेन जी आन्दोलन’ सोमबार दिउँसो संसद भवन अगाडि पुग्दा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ। सामाजिक सञ्जाल बन्द गर्ने निर्णय र बढ्दो भ्रष्टाचारविरुद्ध आक्रोशित युवा समूह संसद भवनतर्फ अघि बढ्दा स्थिति तनावपूर्ण बनेको हो।

आन्दोलनकारीहरूले “सामाजिक सञ्जाल हाम्रो अधिकार हो”, “भ्रष्टाचार बन्द गर”, “युवा पुस्ता जागिरहेको छ” जस्ता नारासहित संसद भवन घेर्ने प्रयास गरेका थिए। प्रहरीले बारम्बार चेतावनी दिए पनि भीड नफर्किएपछि अश्रुग्याँस प्रहार गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

ADVERTISEMENT

अश्रुग्याँसका कारण केही युवाहरू घाइते भएको बताइएको छ भने धेरैलाई श्वास फेर्न कठिनाइ भएको छ। प्रदर्शनकारीहरूले भने प्रहरीको बलप्रयोग अनावश्यक भएको र आफ्नो शान्तिपूर्ण आन्दोलनलाई दमन गरिएको आरोप लगाएका छन्।

‘जेन जी आन्दोलन’लाई राजधानी बाहिरका थुप्रै सहरमा पनि समर्थन मिलिरहेको छ। आयोजकहरूले आन्दोलनलाई अहिंसात्मक राख्ने प्रतिबद्धता दोहोर्याए पनि सुरक्षा निकायसँगको भिडन्तले आगामी दिनमा स्थिति कस्तो हुने हो भन्ने प्रश्न उब्जिएको छ।

ADVERTISEMENT