काठमाडौं । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुदेश खालिङ पुनः नियुक्त भएका छन् । हालै बसेको बैंक सञ्चालक समितिको बैठकले खालिङलाई दोस्रो कार्यकालका लागि पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि उनी २०७८ मा चार वर्षका लागि सिइओ नियुक्त भएका थिए । उनको कार्यकाल आगामी असोज ८ देखि सकिँदै थियो । तर बैंकले दोस्रो कार्यकालका लागि पनि नियुक्त गरेपछि अब उनी २०८६ सम्म एभरेस्ट बैंकको सिइओ हुनेछन् । उनले असोज ८ गते दोस्रो कार्यकालका लागि पदभार सम्हाल्ने भएका छन् ।
पञ्जाव नेसनल बैंकको संयुक्त लगानीमा सञ्चालित एभरेष्ट बैंकमा यसअघि भारतीय नागरिकहरु सीईओ नियुक्त हुने गरेका थिए । तर पहिलोपटक नेपाली नागरिक खालिङ नियुक्त भएका थिए ।
खालिङले एभरेष्ट बैंकको प्रथम नेपाली सीईओ भएर इतिहास मात्रै रचेका छैनन्, सञ्चालकपछि सीईओ हुने कमैमा समेत उनी परेका छन् । सामान्यतया बैंकको कर्मचारीको रुपमा लामो समय काम गरेका व्यक्ति सञ्चालक समितिमा जाने गरेका छन् । तर, सञ्चालक समितिबाट खालिङले कार्यकारी नेतृत्व लिएका थिए । उनी लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृतको पदावधि पूरा गरेर बाहिरिएका थिए । खालिङसँग ३५ वर्ष बैंकिङ सेवा गरेको अनुभव छ ।









