काठमाडौं।  नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले प्रणालीगतरुपमा महत्त्वपूर्ण भुक्तानी प्रणाली (Systemically Important Payment Systems – SIPS) पहिचान गर्ने मापदण्ड सार्वजनिक गरेको छ। यो मापदण्ड दिगो र बलियो वित्तीय बजारको लागि आवश्यक पूर्वाधार निर्धारण गर्ने विश्वव्यापी मानक प्रिन्सिपल्स फर फाइनान्सियल मार्केट इन्फ्रास्ट्रक्चर्स (PFMI) मा आधारित रहेको बताइएको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको दस्तावेज अनुसार, सुरक्षित, प्रभावकारी र सुदृढ भुक्तानी प्रणालीको सुचारु सञ्चालन, आर्थिक स्थायित्वको मेरुदण्डका रूपमा रहने भएकाले यसको पहिचान र नियमन महत्त्वपूर्ण छ। नेपाल जस्ता विकासशील मुलुकमा भुक्तानी प्रणालीले वित्तीय समावेशिता बढाउदै ग्रामीण र शहरी दुवै क्षेत्रमा वित्तीय पहुँच विस्तारमा सहयोग पुर्‍याउने जनाइएको छ।
यस मापदण्डको मुख्य उद्देश्य नेपालमा महत्त्वपूर्ण भुक्तानी प्रणाली पहिचान गर्ने स्पष्ट र बृहत अधार तय गर्नु हो। यसमार्फत प्रणालीगत अवरोध रोक्न नियामकीय निगरानी र जोखिम व्यवस्थापनलाई सुदृढ बनाइने बताइएको छ ।

सार्वजनिक मापदण्डमा चार मुख्य पक्षलाई प्राथमिकता दिइएको बताइएको छ। जस अनुसार प्रथम समग्र वित्तीय प्रणालीमा जोखिम उत्पन्न र प्रसार गर्न सक्ने भुक्तानी प्रणाली पहिचान गर्ने, दोश्रो,विभिन्न अवरोध र जोखिमका बाबजुद संबेदनशील भुक्तानी प्रणालीको निरन्तर संचालनकालागि आवश्यक प्रतिरोधात्मक क्षमताको सुनिश्चित गर्ने तेस्रो , विभिन्न जोखिमका प्रकार, तिनीहरुको सिर्जनाका कारण र समग्र प्रणालीमा तिनीहरुको विस्तारलाइ पहिचान गर्ने र चौथोमा प्रणालीभित्र देखिन सक्ने विभिन्न जोखिम पहिचान गर्ने तथा ती जोखिमलाई प्रभावकारी रूपमा नियन्त्रित गर्ने संयन्त्र विकास गर्नु रहेको छ।

ADVERTISEMENT

यो मापदण्ड नेपाल राष्ट्र बैंकद्वारा सञ्चालन गरिने भुक्तानी प्रणाली तथा भुक्तानी तथा फर्स्यौट ऐन, २०७५ अन्तर्गत इजाजतप्राप्त संस्थाले सञ्चालन गर्ने प्रणालीमा लागू हुने जनाएको छ।

ADVERTISEMENT

कस्ता प्रणालीले प्रणालीगत रूपमा महत्त्वपूर्ण मान्यता पाउने ?

ADVERTISEMENT

तलका मध्ये कम्तीमा एउटा मापदण्ड पूरा गर्ने प्रणालीलाई प्रणालीगत रूपमा महत्त्वपूर्ण भनेर मान्यता दिइन सक्ने उल्लेख गरिएको छ। 

१) नेपाल राष्ट्र बैंकले परिभाषित गरेअनुसार सम्वेदनशील र ठूला मूल्यका भुक्तानीहरू मुख्य रूपमा सञ्चालन गर्ने प्रणाली
२) मुलुककै एक मात्र वा अत्यावश्यक भुक्तानी प्रणाली, जसले देशको वित्तीय पूर्वाधारमा महत्वपूर्ण भूमिका खेल्छ
३) कुल भुक्तानी मूल्यको हिसाबले सबैभन्दा ठूलो भुक्तानी प्रणाली
४) खुद्रा बजारमा कारोबार मूल्यको हिसाबले एक-तिहाइभन्दा बढी वा कारोबार परिमाणको हिसाबले दुई-तिहाइभन्दा बढी बजार हिस्सेदारी भएको प्रणाली
५) अन्य भुक्तानी प्रणालीहरूसँग उच्च स्तरको अन्तरसम्बन्ध भएको प्रणाली

यसबाहेक, वित्तीय प्रणालीमा आफ्नो गम्भीरताको आधारमा, नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीलाई प्रणालीगत रूपमा महत्त्वपूर्ण भनी पहिचान र नामांकन गर्ने अधिकार राख्ने बताइएको छ ।