काठमाडौं । सागर डिष्टिलरीले भदौ २५ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्दैछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपछि कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति नेपाल धितोपत्र बोर्डबाट पाएको थियो। सोमध्ये १० प्रतिशतले हुन आउने एक लाख ४५ हजार २०० कित्ता सेयर विदेशमा रोजगारी गरिरहेकाहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

ADVERTISEMENT

कम्पनीले ५ प्रतिशत अर्थात् ७२ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ भने ४३ हजार ५६० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरेको छ।

ADVERTISEMENT

कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ९० हजार ६४० कित्ता सेयर निष्कासन गर्न लागेको हो। आईपीओमा भदौ २९ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि असोज ८ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई आईआरएन सिंगल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ।

ADVERTISEMENT