काठमाडौं। नेपालले भैंसीको मासु, दुग्ध पदार्थ, तरकारी फलफूल र जडीबुटी चीन निर्यातका लागि भन्सार प्रशासनमा सहजीकरण र लचकता अपनाउन आग्रह गरेको छ ।
चीनको भन्सार प्रशासन र कृषि मन्त्रालयका उच्च अधिकारीबीच बिहीबार काठमाडौंमा भएको द्विपक्षीय बैठकमा नेपालले गरेको आग्रहलाई चिनियाँ पक्षले सकारात्मक रुपमा लिएको जनाएको छ। बैठकमा नेपालको नेतृत्व कृषिमन्त्री रामनाथ अधिकारीले र चीनको भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनले चिनियाँ पक्षको नेतृत्व गरेका थिए ।
नेपालबाट थर्मल रुपमा प्रशोधित भैसीको मासु र भैसीको कार्टिलेज (कुरकुरे हाड) निर्यातका अलावा दुग्ध पदार्थहरु घ्यु, नौनी, वटर तथा छुर्पी चीन निर्यातका लागि कृषि मन्त्रालयले जोड गरिरहेको छ । हेलेज साइलेज पशु आहरा निर्यातका लागि पनि द्विपक्षीय बैठकमा नेपालले कुरा राखेको छ ।
नेपालले कुखुराको मासु र पञ्जा, तरकारी, सुन्तलाजन्य फलफूल, चिया तथा कफी र जडिबुटी निर्यातका लागि सक्षम रहेको र यसका लागि थप सहजीकरण गरिदिन पनि आग्रह गरेको छ । हाल नेपालबाट ३४ प्रकारका कृषिवस्तुहरु ६१ वटा कम्पनीमार्फत निर्यात हुँदै आएको छ । त्यस्तै, हरियो घाँस हेलेज पाँचवटा कम्पनीमार्फत चीन निर्यात हुँदै आएको छ । नेपालले पशु आहार साइलेज निर्यातका लागि पनि चीनसँग प्रस्ताव गरेको छ ।
चीनका उपमन्त्री वाङ्गले चीनले नेपालबाट कृषिवस्तु निर्यातको विषयलाई उच्च महत्व दिएको बताए । एक सयभन्दा बढी देशबाट यस्ता प्रस्ताव आउने गरेको भए पनि छिमेकी मुलुकको रुपमा नेपाललाई महत्व दिएर प्रयास अघि बढाएको बताए । ‘व्यापार सहजीकरणका लागि हाम्रो एकल प्रयासले मात्र पुग्दैन, त्यसैले दुवै देशको संयुक्त प्रयासमा यो गाह्रो र जटिल छैन, सहजीकरण गर्न हामी तयार छौं,’ उनले भने ।
कृषिमन्त्री अधिकारीले नेपालबाट मासु निर्यातका लागि आधारभूत सर्त खोरेतमुक्त क्षेत्र घोषणा गर्नेलगायतका प्रक्रियादेखि चीनको क्वारेन्टाइन मापदण्ड पूरा गर्न प्रयास भइरहेको र सुन्तला जातका फलफूल निर्यातका केही सर्तमा लचकता अपनाइदिनसमेत चिनियाँ पक्षलाई आग्रह गरेका थिए ।
द्विपक्षीय बैठकमा नेपालको कृषिउपज निर्यातका लागि सहजीकरण गर्न दुवै मुलुकको संयुक्त संरचना स्थापना गर्न नेपालले गरेको प्रस्तावमा चिनियाँ पक्षले सहमति जनाएको छ। बैठकमा मन्त्रालयका तर्फबाट सचिवद्वय डा. गोविन्दप्रसाद शर्मा, डा. दीपककुमार खराल र सहसचिवहरु सहभागी थिए ।








