ललितपुर । कृषिमन्त्री रामनाथ अधिकारीले नेपालले दिगो, समावेशी र जलवायु उत्थानशील कृषि क्षेत्र निर्माणको प्रतिबद्धता लिएको बताएका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, एफएओ नेपाल तथा साझेदार संस्थाहरूको संयुक्त आयोजनामा मंगलबार ललितपुरमा आयोजित पारिवारिक खेती र समावेशी ग्रामीण रूपान्तरणः जलवायु परिवर्तनको सन्दर्भमा दिगो विकासका लागि नवप्रवर्तन विषयक अन्तर (क्षेत्रीय संवाद कार्यक्रममा अधिकारीले जलवायुमैत्री कृषि, दिगो पशुपालन व्यवस्थापन, र आधुनिक प्रविधिको प्रयोग प्रवर्द्धन गर्ने प्रमुख राष्ट्रिय कार्यक्रमहरू कार्यान्वयन गरिरहेको बताए ।

‘पारिवारिक खेतीको सन्दर्भमा हामीसँग नमूना कृषि सहकारीहरू, एकीकृत कृषि प्रणालीहरू, र किसान प्रेरित नवप्रवर्तनकारी कार्यहरु जसले ग्रामीण कृषि उत्पादन र कृषकको आम्दानी दुवैमा सुधार गरेका प्रशस्त प्रेरणादायी सफलताका कथा तथा उदाहरणहरू रहेका छन् । हामीले सिंचाइ विस्तार, कोल्ड स्टोरेज पूर्वाधार सुविधा, र मूल्य शृंखला विकासमा लक्षित लगानीलाई प्राथमिकतामा राखेका छौ, जसले किसानको मेहनत र उत्पादनलाई सहजै बजारसम्म छिटो, सुरक्षित र नाफामूलक रूपमा पुग्न सहयोग गर्दछ,’ उनले भने ।

ADVERTISEMENT

मन्त्री अधिकारीले नेपाल जलवायु परिवर्तनबाट हुने प्रभावहरूमा अत्यन्त संवेदनशील रहेको र जलवायु परिवर्तनको चुनौती सामना गर्दै अगाडि बढ्नु परेको बताए । ‘अनिश्चित मौसम, बाढी, सुख्खा, र पहिरो जस्ता कारणहरुले जीवनयापन र राष्ट्रिय खाद्य सुरक्षामा समेत खतरा उत्पन्न गरेका छन्, हालैका वर्षहरूमा यस्ता प्रकोपका कारण कृषि क्षेत्रमा ठूलो क्षति भएको छ, जसले जलवायु अनुकूलनका उपायहरूको तत्काल आवश्यकता र अपरिहर्यता देखाएको छ,’ उनले भने ।

ADVERTISEMENT

मन्त्री अधिकारीले सरकारले योजनाबद्ध रुपमा बाली विविधीकरण, माटोको स्वास्थ्य सुधार, दिगो जल व्यवस्थापन, सुख्खा र बाढी सहनशील बाली प्रजातिको प्रवर्द्धन जस्ता कार्यका लागि थप अग्रसरता, प्रयासहरु र लगानी सुरु गरेको जानकारी दिए ।

ADVERTISEMENT