जेरुसेलम । इजरायली अर्थमन्त्री बेजलेल स्मोट्रिचले हमासले निरस्त्रीकरण गर्न अस्वीकार गरेमा गाजापट्टीलाई इजरायलमा विलय गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

‘यदि हमास आत्मसमर्पण गर्न, हतियार त्याग्न र इजरायली बन्दीहरूलाई रिहा गर्न तयार भएन भने इजरायलले हरेक हप्ता गाजाको एक भाग कब्जा गर्दै चार हप्ताभित्र सम्पूर्ण नियन्त्रण लिनुपर्छ,’ बिहीबार पत्रकार सम्मेलनमा स्मोट्रिचले भनेका थिए ।

अलजजिराका अनुसार प्रारम्भमा प्यालेस्टिनीहरूलाई गाजाको दक्षिण भागतर्फ सर्न भनिनेछ, त्यसपछि इजरायलले उत्तर र केन्द्र क्षेत्रलाई घेराबन्दी गरी अन्ततः विलय गर्नेछ । स्मोट्रिचले यस प्रक्रिया तीनदेखि चार महिनाभित्र पूरा गर्न सकिने दाबी गर्दै भने, ‘यी कदमहरू वर्षको अन्त्यसम्म गाजामा ‘विजय’ हासिल गर्ने योजनाको हिस्सा हुन् ।’

ADVERTISEMENT

इजरायली सेनाले गाजा सहरतर्फ गहिरो अग्रसर गर्दै करिब १० लाख प्यालेस्टिनीलाई विस्थापित गर्ने उद्देश्यले क्षेत्र कब्जा गर्ने प्रयासलाई तीव्र पारेको बेला उनको यो टिप्पणी आएको हो ।यसबीच, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गत हप्ता इजरायलको आक्रमणले ‘ठूलो मृत्यु र विनाश’ निम्त्याउने चेतावनी दिएका छन् । उनले सैन्य आक्रमणलाई व्यापक रूपमा निन्दा गर्दै भने, ‘अनिकाल आउन लागेको होइन, यो अहिले भइरहेको विनाश हो । मानिसहरू भोकमरीका कारण मर्दैछन्, परिवारहरू विस्थापन र निराशाबाट टुक्रिँदैछन्, गर्भवतीहरूले अकल्पनीय जोखिम भोगिरहेका छन् र खाना, पानी तथा स्वास्थ्य सेवा जस्ता जीवनधारणका आधारभूत प्रणालीहरू व्यवस्थित रूपमा ध्वस्त पारिएका छन् ।’
गाजामा इजरायली नाकाबन्दीका कारण खाद्यान्न, पानी र अन्य मानवीय आपूर्तिको चरम अभाव भइरहेको छ ।

ADVERTISEMENT

हमासले स्मोट्रिचको टिप्पणीलाई कडा रूपमा अस्वीकार गर्दै भनेको छ, ‘उक्त अभिव्यक्ति हाम्रा जनतालाई उन्मूलन गर्ने आधिकारिक आह्वान हो र यसले भोकमरीलाई हतियारका रूपमा प्रयोग गर्ने तथा निर्दोष नागरिकविरुद्ध घेराबन्दीलाई औपचारिक स्वीकार गरेको पुष्टि गर्दछ ।’

ADVERTISEMENT

स्मोट्रिचले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आफ्नो विलय योजना ‘तुरुन्तै पूर्ण रूपमा’ अपनाउन आग्रह गरेका छन् । नेतान्याहुले यसबारे सार्वजनिक रूपमा कुनै टिप्पणी गरेका छैनन् ।