काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धानको उत्पादन बढाइ खाद्य सुरक्षा कायम गर्ने र आत्मनिर्भर बन्ने सरकारको प्राथमिकताको विषय रहेको बताएका छन् ।
धान सम्वन्धीे अध्ययन अनुशन्धान गर्ने अन्तरष्ट्रिय संस्था इरीको एशिया निर्देशक डा जोङ्ग सू सँग बिहिबार मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले नेपाल विगतमा धान चामलमा आत्मनिर्भर रहेपनि जनसंख्या वृद्धि र भात खाने बानीका कारण चामलको माग र खपत बढ्दै गइरहेकाले आन्तरिक उत्पादनले माग नधाने पछि पछिल्ला वर्षहरुमा धान चामल आयातमा ठूलो धनराशी खर्च हुने गरेको प्रसंग उल्लेख गर्दे उत्पादकत्व बढाउने र बढ्दो लागत घटाउने तर्फ मन्त्रालयले काम गरिरहेको बताए ।
सरकारले मल, बीउ, प्रविधि, यान्त्रिकिकरण, भण्डारण सुविधा, न्यूनतम समर्थन मूल्यको कार्यान्वयन, धान चामल उद्यागसँग सहकार्य गर्ने लगायतका सक्दो प्रयासहरु गरिरहेको पनि मन्त्री अधिकारीले उल्लेख गरे । ।
उनले पछिल्लो समय जलवायु परिवर्तनको कारण धान उत्पादनमा प्रत्यक्ष असर पर्न थालेका कारण बढि उत्पादन दिने जलवायु अनुकुलनका धानका जातहरुको विकासमा इरीले महत्वपुर्ण योगदान गरेकोमा इरीको प्रशंसा गरे ।
‘हामीलाई इरीको थप साथ र सहयोग आवश्यक छ , यसको लागि हामीले विगत देखिनै विभिन्न प्रयास र पहल गर्दै आएका पनि छौं।
कुनै प्रोजेक्ट नहुँदा पनि सरकारको तर्फबाट धान अनुसन्धान र विकासमा सहयोग गर्न इरीको विशेषज्ञता र क्षमतालाई उपयोग गर्ने गरि फण्ड व्यवस्थापन गर्ने दिशामा हामी लागेका मन्त्री अधिकारीको भनाई थियो ।
भेटका क्रममा इरीका एशिया निर्देशक जोङ्ग सूले इरीलाई नेपाल सरकारवाट प्राप्त भएको सहकार्यका लागि आभार व्यक्त गर्दे आगामी दिनमा इरीसँगको सहकार्यमा थप वृद्धि हुने अपेक्षा व्यक्त गरे ।







