काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि भइरहेको ज्यादतीप्रति असन्तुष्टि व्यक्त गरेकी छन्। भण्डारीले सहकारीको समस्या समाधान गर्नुपर्ने बेलामा राज्यले लामिछानेलाई दुःख दिने काम गरिरहेको बताएकी छन् ।

रास्वपां प्रवक्ता मनिष झासँगको कुराकानीमा पूर्वराष्ट्रपति भण्डारीले लामिछानेलाई पुर्पक्षका लागि कारागारमा राखिएकामा आफू सन्तुष्ट नरहेको बताएकी हुन् । केही दिनअघि थापागाउँमा पूर्वराष्ट्रपति भण्डारीले रविबारे टिप्पणी गरेकी थिइन् । आफूप्रति सकारात्मक टिप्पणी गरेकै कारण रविले प्रवक्ता झालाई भेट्न पठाएको नेताहरुको भनाइ छ । दुवैबीच डेढ घन्टा कुराकानी भएको थियो ।

सहकारी बचत रकम अपचलन मुद्दामा सुरूमा रूपन्देही कारागारमा राखिएका रविलाई हालै नख्खु कारागार ल्याइएको छ ।

भण्डारीले सहकारीका बचतकर्ताको बचत सरकारले फिर्ता गर्न सुरु नगरेको पनि बताएकी थिइन् । ‘सहकारीको विषयलाई राजनीतिक मुद्दामात्रै बनाइयो, बचतकर्ताहरूको बचत सरकारले फिर्ता गरेको छैन । चाडपर्वको मुख छ, बचतकर्ताहरूले आफ्नो बचत फिर्ता पाउनुपर्ने हो नि,’ भण्डारीको भनाइ उद्धृत गर्दै झाले भने । राजनीतिमा युवापुस्ता नयाँ विचारसहित आएको भन्दै भण्डारीले प्रशंसासमेत गरेको झाको भनाइ छ ।

एमालेको गत साउनमा बसेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक लगाएको थियो । तर, भण्डारीले राजनीतिक गतिविधि गर्दै आएकी छन् । उनले थापागाउँमा सम्पर्क कार्यालय नै खोलेकी छिन् । १२ दिनपछि हुने एमालेको विधान महाधिवेशनलाई लक्षित गर्दै उनले सम्पर्क कार्यालय खोलेकी हुन् ।