काठमाडौं । भदौ १० गते हरितालिका (तीज) पर्वका लागि नेपाल प्रहरीका साथै सशस्त्र प्रहरी बल नेपाल परिचालन गरिने भएको छ ।
मेला क्षेत्रमा पाकेटमारी र अनियमित क्रियाकलाप हुन नदिन सादा पोशाकमा प्रहरी खटाई पर्वको दुई दिन अगाडिदेखि नै त्यस्ता क्रियाकलापमा शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिई राख्ने व्यवस्था मिलाइएको पशपति क्षेत्र विकास कोषले जनाएको छ ।
यस्तै, मन्दिर दर्शनका लागि कुनै पनि किसिमको पासको व्यवस्था नगरिएको र तीज पर्वका दिनमा कुनै पनि प्रकारको विशेष पूजाको व्यवस्था नगरिएको कोषले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
दर्शनार्थीहरुको छिटोभन्दा छिटो दर्शन गरी फर्कन सक्ने गरी बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोल्ने व्यवस्था मिलाइएको छ । पशुपतिनाथका नित्य दर्शनार्थीहरु विहान ५.३० बजेसम्मका लागि मात्र उपर्युक्तानुसारका चार ढोकामध्ये जुनसुकै ढोकाबाट प्रवेश गरी दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको छ ।









