काठमाडौं । विश्वप्रसिद्ध एआई कम्पनी ओपनएआई (OpenAI) ले यस वर्षभित्रै भारतको राजधानी नयाँ दिल्लीमा आफ्नो पहिलो कार्यालय खोल्ने घोषणा गरेको छ। च्याटजीपीटी (ChatGPT) को निर्माता ओपनएआईले भारतलाई आफ्नो दोस्रो ठूलो बजारको रुपमा पहिचान गर्दै स्थानीय उपस्थितीलाई औपचारिक बनाउने तयारी गरेको छ।

कम्पनीले आफुलाई कानुनी रुपमा भारतमा दर्ता गरिसकेको छ र स्थानीय कर्मचारी भर्ना प्रक्रिया सुरु गरेको जनाएको छ। हालै मात्रै कम्पनीले भारतीय प्रयोगकर्तालाई लक्षित गर्दै मासिक ४.६० अमेरिकी डलर पर्ने सबैभन्दा सस्तो योजना सार्वजनिक गरेको छ,  जसले करिब एक अर्ब इन्टरनेट प्रयोगकर्तालाई आकर्षित गर्ने लक्ष्य राखेको छ।

ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टमनले विज्ञप्तिमा भनेका छन् – “भारतमा एआईप्रति देखिएको उत्साह र अवसर व्यापक छ। यहाँ रहेको उत्कृष्ट प्रविधिमैत्री  प्रतिभा, विश्वस्तरीय डेभलपर इकोसिस्टम र सरकारको इंडिया एआई  मिशनले भारतको एआईप्रतिको उत्कट अभिलाषा प्रष्ट देखिन्छ । भारतमै कार्यालय खोल्नु देशभर एआईलाई अझ सुलभ बनाउन र भारतका लागि भारतसँगै एआई निर्माण गर्ने हाम्रो प्रतिवद्धताको पहिलो कदम हो। ” 

ADVERTISEMENT
Sam Altman

ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टमन

भारत ओपनएआईको लागि दोस्रो ठूलो र तीव्र गतिमा बढिरहेको बजार हो। कम्पनीको  तथ्याङ्क अनुसार पछिल्लो एक वर्षमा भारतमा च्याटजीपीटी प्रयोगकर्ताको संख्या चार गुणाले  बढेको छ। सबभन्दा मुख्य कुरा ओपनएआईको प्रयोगकर्ता मध्य भारतीय विद्यार्थीको संख्या विश्वमै सबैभन्दा उच्च रहेको छ ।

ADVERTISEMENT

ओपनएआईले दिल्ली कार्यालयको ठेगाना अझै सार्वजनिक नगरेपनि निकट भविष्यमा थप विवरण दिने जनाएको छ। यसै क्रममा, कम्पनीले यसै महिना भारतमा पहिलोपटक एजुकेसन समिट आयोजना गर्ने र यस वर्षकै अन्त्यतिर डेभलपर डे समेत आयोजना गर्ने तयारी गरेको छ।

ADVERTISEMENT

ओपनएआईलाई भारतमा कानुनी चुनौती पनि सामना गर्नुपरेको छ। कतिपय मिडिया हाउस र प्रकाशकहरूले कम्पनीमाथि बिना अनुमति आफ्नो सामग्री प्रयोग गरी च्याटजीपीटीलाई प्रशिक्षण दिएको आरोप लगाएका छन्। तर, कम्पनीले हालसम्म उक्त आरोपलाई  अस्वीकार गरेको छ।

ओपनएआईले भारतीय बजारलाई लक्षित गर्दै आफ्नो उपस्थिति विस्तार गर्दै जानु आगामी वर्षहरूमा एआई क्षेत्रमा भारतलाई विश्वकै केन्द्रबिन्दु बनाउने संकेतका रूपमा हेरिएको छ।