काठमाडौं । काठमाडौंको हनुमानढोका परिसर मंगलबार अपराह्न फरक रौनकले भरिएको छ। १८६औं विश्व फोटोग्राफी दिवसको अवसर पारेर राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे नेपाल) पहिलोपटक एकल फोटो प्रदर्शनी आयोजना गरिरहेको छ।
संस्थाका केन्द्रीय अध्यक्ष तथा वरिष्ठ फोटोपत्रकार प्रदीपराज वन्तको फ्लाइट एन्ड फ्रेम नामक प्रदर्शनीले यो दिवसलाई विशेष बनाएको छ।
दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म चल्ने प्रदर्शनीमा वन्तले आफ्नो क्यामेरामा कैद गरेका ६० ओटा तस्वीरहरू राखिएका छन्। यी तस्वीरहरू उनले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यकालमा अफिसियल फोटो पत्रकारका हैसियतले हवाइजहाजबाट खिचेका हुन्।
आकाशमैत्री दृष्टिकोणले नेपालका भौगोलिक विविधता, पर्यटकीय आकर्षण र प्राकृतिक सुन्दरतालाई प्रस्तुत गर्ने यी तस्बिरहरूले प्रदर्शनीमा आउने जो–कोहीलाई आकाशबाट नेपाल हेर्ने अनुभव दिइरहेका छन्।
एनएफपिजे नेपालका महासचिव घनश्याम श्रेष्ठ भन्छन्, ‘यो प्रदर्शनीले फोटोग्राफी दिवसलाई मात्र अर्थपूर्ण बनाएको छैन, फोटो पत्रकारिताको महत्व र योगदानलाई समाजसामु अझ स्पष्ट रूपमा देखाएको छ।’ उनका अनुसार आगामी दिनमा संस्थाले अन्य सदस्यहरूको पनि एकल प्रदर्शनी गर्दै लैजाने योजना बनाइरहेको छ।
कार्यक्रमको उद्घाटन संस्थाका पूर्व अध्यक्ष तथा वरिष्ठ फोटोपत्रकारहरू मिनरत्न बज्राचार्य र कविन्द्रमान शाक्यले संयुक्त रूपमा गरेका छन्। कार्यक्रममा सदस्यहरू, फोटोपत्रकार, सञ्चारकर्मी, फोटोग्राफर, विद्यार्थी तथा फोटोप्रेमीहरूको उल्लेख्य उपस्थिति छ। प्रदर्शनी सर्वसाधारणलाई लक्षित गरिएको हुँदा त्यहाँ स्थानीय बासिन्दादेखि विदेशी पर्यटकसम्म रमाउँदै तस्वीर हेर्दै गरेका देखिन्छन्।
राष्ट्रिय समाचार समितिका वरिष्ठ फोटोपत्रकारसमेत रहेका अध्यक्ष वन्तका लागि यो प्रदर्शनी केवल पेशागत उपलब्धि मात्र होइन, लामो अनुभव र यात्राको परिणाम पनि हो।









