काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले मधेश केन्द्रित दलका नेताहरूसँग सामूहिक भेट गर्दै छन्।

सोमबार दिउँसो १२ः३० बजे मिश्रीसँगको लञ्च बैठकमा मधेशी मोर्चाका नेताहरू महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, सीके राउत, हृदयेश त्रिपाठी र रेशम चौधरी सहभागी हुँदै छन्। भेटघाटको नियमति कार्यतालिका नभए पनि मधेशी मोर्चाका नेताहरूसँगको लञ्च मिटिङ हुने भएको हो। लगत्तै २ः३० बजे विदेश सचिव मिश्री दिल्ली फर्किंदै छन्।

मिश्रीसँगको लञ्च मिटिङमा अशोक राईको समाजवादी पार्टीलाई निमन्त्रणा गरिएको छैन । के कति कारणले जसपालाई सहभागी गराइएन भनेर खुलाइएको छैन। यसअघि मिश्रीसँग मधेशी मोर्चाका नेताहरूले भेटघाट गर्ने कार्यतालिका नै थिएन । तर मधेश केन्द्रित दलहरूलाई नभेट्दा गलत म्यासेज जाने डरले भारतीय दूतावासको पहलमा होटल द्वारिकाजमा भेटघाटको समय मिलाइएको हो ।

प्रधानमन्त्री केपी ओलीलाई भारत भ्रमणको निम्तो दिन आइतबार बिहान आएका मिस्रीले भ्रमणको पहिलो दिन राजनीतिक भेटघाट सम्पन्न गरेका थिए। उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री आरजु देउवा राणासँग भेटघाट गरेका थिए।