काठमाडौं । भारतीय प्रहरीले लोकसभाका विपक्षी नेता राहुल गान्धी, कंग्रेस महासचिव प्रियंका गान्धीसहितका सांसदलाई हिरासतमा लिएको छ ।

भारतको संसददेखि निर्वाचन आयोगको कार्यालयसम्म मार्च गरिरहेका विपक्षी सांसदलाई दिल्ली प्रहरीले हिरासतमा लिएको हो। विपक्षी सांसदहरूले प्रमुख निर्वाचन आयुक्त र अन्य दुई निर्वाचन आयुक्तलाई भेट्न समय मागेका थिए।

ADVERTISEMENT

दिल्ली प्रहरीले सांसदहरूको संख्या धेरै भएकाले विपक्षी सांसदलाई हिरासतमा लिएको बताएको छ। नयाँ दिल्लीका डीसीपी देवेश कुमारले भने, ‘निर्वाचन आयोगले करिब ३० जना सांसदलाई भेट्न अनुमति दिएको थियो। सांसदहरूको संख्या धेरै भएकाले हिरासतमा राखिएको छ।’

ADVERTISEMENT

लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीको नेतृत्वमा सांसदहरूले मतदाता सूचीको मुद्दालाई लिएर संसददेखि निर्वाचन आयोगको कार्यालयसम्म विरोध प्रदर्शन गरिरहेका थिए। त्यस क्रममा उनीहरूलाई प्रहरीले हिरासतमा लिएको हो।

ADVERTISEMENT

प्रहरीलाई प्रदर्शनकारीहरूलाई हिरासतमा राख्न र मिडियालाई निर्वाचन आयोगको मुख्य गेटबाट टाढा राख्न निर्देशन दिइएको छ । प्रहरीले हिरासतमा लिन खोजेपछि समाजवादी पार्टीका सांसद अखिलेश यादवले सुरक्षा ब्यारिकेड तोडेका थिए ।