काठमाडौं । बालुवाटारस्थित सांग्रिला विकास बैंकको शाखामा सोमबार बिहान महिलाहरूको भीड थियो। हातमा मेहन्दीको डिजाइन बनाउँदै र पालो पर्खिँदै सबै उत्साहित देखिन्थे।

बैंकको मार्केटिङ विभाग प्रमुख अर्पणा बज्राचार्यका अनुसार यो कार्यक्रम हरेक वर्ष श्रावण महिनाका सोमबारहरूमा आयोजना गरिन्छ र यो निरन्तर चार वर्षदेखि हुँदै आएको छ ।

‘यसलाई हामीले संस्कृतिको संरक्षण र उत्सवको रूपमा सञ्चालन गर्दै आएका छौँ। ग्राहक मात्र होइन, हाम्रो आफ्ना स्टाफलाई पनि हामी यसमा सहभागी गराउँछौँ,’ उनले भने ।

आज साउन महिनाको अन्तिम सोमबार हो। यस वर्ष यो कार्यक्रम केवल बालुवाटार शाखामै नभई, प्रत्येक क्लस्टरका १० शाखामा गरिएको छ। यो महिनाको सुरुदेखि अहिलेसम्म यस अभियानमा १५०० भन्दा बढी महिला सहभागी भइसकेका छन्।

यो निःशुल्क सेवा भएकाले यसको खर्चबारे सोध्दा बज्राचार्यले भने, ‘हामीले यसलाई ब्रान्डिङमार्फत व्यवस्थापन गरेका हौँ।’