काठमाडौं । अस्ट्रेलियाले आगामी सेप्टेम्बरमा प्यालेस्टिनी राज्यलाई मान्यता दिने घोषणा गरेको छ। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले संयुक्त राष्ट्रसंघको महासभामा प्यालेस्टाइनलाई नयाँ राज्यको मान्यता दिने बताएका छन् ।
‘दुई राज्य समाधान नै मध्यपूर्वमा हिंसाको चक्र तोड्ने र गाजा क्षेत्रमा भइरहेको युद्ध, पीडा र भोकमरी अन्त्य गर्ने मानवताको उत्कृष्ट आशा हो,’ उनले भनेका छन् । अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजका अनुसार यो निर्णय प्यालेस्टिनी प्राधिकरणका राष्ट्रपति महमूद अब्बासबाट भविष्यको कुनै पनि राज्यमा हमासको कुनै भूमिका नहुने प्रतिबद्धता पाएपछि गरिएको हो।
विश्वका करिब १४० भन्दा बढी राष्ट्रहरूले प्यालेस्टाइनलाई औपचारिक रूपमा मान्यता दिएका छन्, तर यसको सम्पूर्ण भौगोलिक नियन्त्रण र सार्वभौमिकतामा भने अझै विवाद छ। यसअघि बेलायत, फ्रान्स र क्यानडाले पनि प्यालेस्टिनी राज्यलाई मान्यता दिने घोषणा गरिसकेका छन्।
इजरायलले भने प्यालेस्टिनी राज्यको मान्यतालाई ‘आतंकवादको पुरस्कार’ हुने बताएको छ। गाजामा जारी युद्ध अन्त्य गर्न बढ्दो दबाबमा रहेको इजरायलले यस विषयमा कडा प्रतिक्रिया दिएको हो।
सन् १९६७ को छ दिने युद्धपछि इजरायलले पश्चिम तट, गाजा, पूर्वी जेरुसेलम र गोलान हाइट्स कब्जा गरेपछि प्यालेस्टिनी राष्ट्रिय आन्दोलन बलियो बनेको थियो। सन् १९८८ मा प्यालेस्टाइन मुक्ति संगठनले स्वतन्त्र प्यालेस्टाइन राज्यको घोषणा गरेको थियो।





