काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल भ्रमणमा आउने भएका छन् । उनी आगामी भदौ १ गते नेपाल आउने परराष्ट्र स्रोतले जनाएको छ ।
प्रधानमन्त्री केपी ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन मिश्री नेपाल आउन लागेको बताइएको छ। ओलीलाई ३१ भदौदेखि १ असोजसम्म भारत भ्रमण गर्न भारतीय पक्षले प्रस्ताव गरेको छ । तर, भ्रमणको औपचारिक निम्तो भने प्राप्त भएको छैन।
विदेश सचिव मिश्रीले प्रधानमन्त्री ओलीसँग भेटेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गर्ने बताइएको छ ।
विदेश सचिव मिश्रीले प्रधानमन्त्री, परराष्ट्रमन्त्री, परराष्ट्रसचिवसँग भेटेर ओलीको भारत भ्रमणका एजेन्डाबारे छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले बतायो । नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री केपी ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायतलाई भेट्ने तय भएको छ ।
सचिवमा नियुक्त भएपछि ठिक एक वर्षअघि मिस्री नेपाल भ्रमणमा आएका थिए । सचिव मिस्रीले सो भ्रमणलाई परिचयात्मक भ्रमण भनेका थिए । त्यतिबेला पनि प्रधानमन्त्री अोलीलाई भारत भ्रमणको निम्तो दिन आएको भनिएको थियो तर उनी भेटघाट गरी स्वदेश फर्केका थिए ।
तेस्रोपटक प्रधानमन्त्री बनेका ओलीले पहिलो भारत भ्रमण तयारी गरेका छन् ।







