काठमाडौं, ४५ वर्षअघि हराएको एक अत्यन्तै दुर्लभ तथा ऐतिहासिक पौभा चित्र अमेरिकाबाट नेपाल फर्किएको छ। यो चित्र अहिले काठमाडौंको ऐतिहासिक इतुंबहालस्थित पारावत महाविहारमा सर्वसाधारणका लागि प्रदर्शनीमा राखिएको छ।
यस चित्रलाई एशियाकै सबैभन्दा ठूलो पौभा चित्र मानिन्छ, जसले नेपालको सांस्कृतिक, धार्मिक र कलात्मक सम्पदामा अमूल्य योगदान दिन्छ।चित्रको पुनरागमनको कथा पनि रोचक छ। अमेरिकी पर्यटक हेनरीले दशकोंअघि नेपाल भ्रमणका क्रममा यो चित्र देखेका थिए। पछि न्युयोर्कको एक संग्रहालयमा यही चित्र फेरि देखेपछि उनले नेपालसँग सम्पर्क सुरु गरे। विस्तृत अनुसन्धानपछि चित्रको पहिचान पुष्टिएपछि न्यूयोर्कस्थित विभिन्न संघसंस्थाहरूको पहलमा चित्र नेपाल फर्काइएको हो। यो चित्र १५ दिनसम्म पारावत महाविहार, इतुंबहालमा प्रदर्शनीका रूपमा राखिनेछ। महाविहारका अनुसार यो अवसर श्री भास्करदेवद्वारा संस्कारित तथा केशचन्द्रद्वारा निर्मित विहारको ४५ औं वर्ष प्रवेश दिवससँग पनि मेल खान्छ।
यस अवसरमा नेपाल राष्ट्रिय संग्रहालयबाट ल्याइएका अन्य बहुमूल्य र ऐतिहासिक पौभा चित्रहरू पनि प्रदर्शित छन्:
-
गगनसिंह भारोया – ५७५ वर्ष पुरानो पौभा
-
चिन्तामणि लोकेश्वर – ३०० वर्ष पुरानो पौभा
-
केशचन्द्र व भैरव – ३२१ वर्ष पुरानो संयुक्त पौभा चित्र

सन् २०२५ जुलाई २६ (वि.सं. २०८२ साल श्रावण १० गते), नेपाल संवत ११४५ को गुंलाथ्व दोस्रो शनिबारबाट सुरु भएको यो प्रदर्शनी नेपाली कला–संस्कृति र सम्पदा संरक्षणप्रतिको जागरणको प्रतीक बनिरहेको छ।
तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी








