काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले लालवीर चौधरीलाई अध्यक्ष बनाउने निर्णय गरेसँगै दुईजना अध्यक्ष भएका छन् ।

काठमाडौँमा बिहीबार सम्पन्न पार्टीको राष्ट्रिय भेलाले प्रतिनिधिसभा सदस्यसमेत रहेका लालवीरलाई सर्वसम्मत अध्यक्ष बनाउने निर्णय गरेको हो । लालवीर पार्टीका संरक्षक रेशम चौधरीका बाबु हुन् । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाएर उनको ठाउाँमा लालवीरलाई अध्यक्ष बनाइएको हो ।

ADVERTISEMENT

निर्वाचन आयोगमा बुझाइएको पार्टीको विवरणमा रञ्जिता नै अध्यक्ष छिन् । रञ्जिताले बिहीबार नै अध्यक्षको हैसियतमा पार्टी संसदीय दलका नेतालाई स्पष्टीकरण सोधेकी छन् । नागरिक उन्मुक्तिमा अब कानुनी र व्यावहारिक गरी दुई अध्यक्ष भएका छन् ।

रञ्जिता श्रेष्ठले पार्टीलाई अनिर्णयको बन्दी बनाएको र डेढ वर्षदेखि केन्द्रीय समिति बैठक नबसेको तथा पार्टीलाई चलायमान बनाउन नसकेकाले नयाँ निर्णय लिनुपरेको नाउपा सांसद अरुणकुमार चौधरीले बताए ।

ADVERTISEMENT

रञ्जिता श्रेष्ठले भने पार्टी विधानविपरीत भएको निर्णय आफूलाई मान्य नहुने बताएकी छन् । ‘मलाई जानकारीसमेत नदिइ राष्ट्रिय भेला बोलाएर नयाँ अध्यक्ष चयन गरिएको छ। यो विधानविपरीत हो। अब मैले कानुनी उपचार खोज्छु,’ उनले भनेकी छन् ।

प्रतिनिधिसभा सदस्यसमेत रहेकी रेशम पत्नी रञ्जितालाई बुधबार पार्टीले अध्यक्ष पदबाट हटाएको थियो। २०७८ मा नागरिक उन्मुक्ति पार्टी गठन भएको हो। तत्कालीन समयमा रेशम चौधरी जेलभित्र भएकाबेला उहाँकी पत्नी रञ्जिताको अध्यक्षतामा पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो।