काठमाडौं । कांग्रेस दलको नेताबाट पदमुक्त भए पनि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा नदिने भएका छन् ।
सोमबार संसदीय दलमा भएको मत विभाजनमा पराजित भए पनि उनले मुख्यमन्त्री पदबाट भने राजीनामा दिनुपर्ने कुनै संवैधानिक बाध्यता नरहेको भन्दै आफ्नो अडान कायमै रहेको दाबी गरेका हुन् ।
मत विभाजनपछि पत्रकारहरुसँग कुरा गर्दै लामाले सरकारको नेतृत्व र संसदीय दलको नेतृत्व अर्कै भएको बताए । ‘सरकारको नेतृत्व एउटा पाटो हो, संसदीय दल अर्को पाटो हो । मुख्यमन्त्री हुन दलको नेता चाहिँदैन,’ उनले भने, ‘गठबन्धन सरकारमा दलको नेताको हैसियतले मात्रै मुख्यमन्त्री बन्नुपर्ने कुनै बाध्यता छैन ।’
उनले आफू दलको नेतामा पराजित भए पनि संसदीय दलको नयाँ नेताको चयन प्रक्रिया बाँकी नै रहेकाले त्यसमा आफ्नो पक्षले उम्मेदवारी दिने बताए । मुख्यमन्त्री लामाले उम्मेदवार प्रदेश सांसदहरुबाट जोसुकै हुनसक्ने उल्लेख गर्दै त्यसमा पुनः आफै वा अर्को कसैलाई प्रतिस्पर्धामा उतार्ने बताए । कांग्रेसभित्र बागमती प्रदेशको नेतृत्वमा अस्थिरता चुलिएको अवस्थामा लामाको यो अडानले नयाँ राजनीतिक मोड लिन सक्ने संकेत देखिएको छ ।
कांग्रेस संसदीय दलमा मंगलबार भएको मत विभाजनमा लामाले १५ सांसदको मत मात्रै प्राप्त गरेका थिए । ३७ सांसद रहेको प्रदेश सभामा दलको नेता बन्न १९ जनाको समर्थन आवश्यक पर्छ । बागमतीमा कांग्रेसका प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँ दलको नेता बन्ने भएका छन् । उनले २२ सांसदको समर्थन पाएका छन् ।
पार्टी प्रदेश सभापतिसमेत रहेका बानियाँलगायत २१ सांसदले गत शुक्रबार लामाविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । उक्त प्रस्ताव आज बहुमतले पारित भएको हो । संसदीय दलको निर्वाचन चाँडै गरिने भएको छ ।







