काठमाडौं । रसुवामा आएको बाढीका कारण अवरुद्ध काठमाडौं–मुग्लिन जोड्ने पृथ्वी राजमार्ग बिहीबार दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारीका साथ सडक विभागले काम तीव्र बनाएको छ ।
सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता इन्जिनियर शुभराज न्यौपानेका अनुसार बाढीले सडकमा थुपारेको लेदो हटाउने काम भइरहेको छ । विशेष अवस्था नआए बिहीबार दिउँसोसम्म राजमार्ग सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको उनले बताए ।
उनका अनुसार मुग्लिनदेखि गलौंदीसम्म र काठमाडौंँदेखि बैरेनीसम्मको सडकखण्ड सञ्चालनयोग्य अवस्थामा छ । तर बैरेनीदेखि गलौंदीसम्मको करिब १३ किलोमिटर सडकका विभिन्न स्थानमा बाढीले ठूलो मात्रामा लेदो थुपारेको छ ।
भारी मात्रामा लेदो थुप्रिएकाले त्यसको मुनि सडकको अवस्था कस्तो छ भन्ने यकिन गर्न कठिन रहेको न्यौपानेले बताए ।
लेदो हटाउन गएरातिदेखि नै १५ वटा उपकरण परिचालन गरिएको छ । गएराति करिब १० बजेपछि वर्षा भएपछि केही समय काम रोकिए पनि बिहीबार बिहानैदेखि उपकरण परिचालन गरी सडक सफा गर्ने काम पुनः सुरु गरिएको छ ।
बुधबार भोटेकोशी नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा क्षति पुगेपछि सडक अवरुद्ध भएको थियो । विभागले सडकको अवस्था हेर्दै आवश्यक मर्मत तथा सफाइको काम अघि बढाइरहेको जनाएको छ।






