काठमाडौं । मण्डला थिएटर, थापागाउँमा मञ्चन भइरहेको ‘स्वर्णदेश’ नाटकले नेपाली समाजको एउटा चिसो साँचो नङ्ग्याएको छ, अमेरिका पुग्ने सपना बोकेर जीवनको जोखिम उठाउने युवाहरूको कथा।

सरिता कठायतको लेखन र आकास नेपालीको निर्देशनमा बनेको यो नाटक कुनै काल्पनिक कल्पना होइन, बरु यथार्थले छोएको कथा हो। जंगल, नदी र समुद्र पार गर्दै अमेरिका पुग्न खोज्नेहरूको समूहमार्फत नाटकले त्यो भयावह यात्रा, सपना र पीडाको चित्रण गर्छ।

ADVERTISEMENT

पात्रहरू फरक देखिए पनि उनीहरूलाई जोड्ने धागो एउटै छ। गरिबी, ऋण, आशा र ‘केही गरेर फर्कने’ इच्छा। तर कतिपय फर्कंदैनन्। नाटकले यिनै यथार्थलाई संवाद, मौनता र प्रतीकात्मक प्रस्तुतिमार्फत दर्शकसामु राख्छ।

ADVERTISEMENT

निर्देशक आकाश नेपालीका लागि यो पहिलो निर्देशन हो। अभिनयबाट थियटरमा सुरू गरेका उनले निर्देशनमा पनि भावनाको गहिराइ देखाएका छन्।  उनी भन्छन्, ‘यो नाटक मस्तिष्कले होइन, मुटुले हेर्नुपर्ने हो। हामीले संवादभन्दा बीचका मौनता समाउन खोजेका छौं।”

नाटकको निर्माणमा योलो इन्टरटेन्मेन्ट त र शुभेच्छा पिक्चर्सको सहकार्य छ। योलोका तर्फबाट, ‘देश छोड्न बाध्य बनाउने संरचनात्मक कमजोरीलाई कलामार्फत बोलाउनु आजको आवश्यकता हो,’ भनिएको छ। सुवकाशाका अनुसार, स्वर्णदेश उनीहरूको पहिलो नाटक हो, जसबाट सचेतना र संवाद सुरु होस् भन्ने अपेक्षा गरिएको छ।

ADVERTISEMENT

मण्डला थिएटरले पनि यो नाटकलाई विशेष मानेको छ। संस्थामार्फत प्रशिक्षण लिएका कलाकारहरूकै प्रस्तुति भएको यो नाटकले मञ्चमात्र होइन, भविष्य निर्माण गर्ने बाटो पनि खोल्ने मञ्च भएको पुष्टि गरेको छ।

‘स्वर्णदेश’ मण्डला थिएटरमा हरेक दिन साँझ ६ः४५ बजे मञ्चन हुँदैछ (सोमबारबाहेक)। शनिबार थप विशेष शो दिउँसो ३ः३० बजे पनि हेर्न सकिन्छ।