काठमाडौं । नेपाल बीमा प्राधिकरणकी महिला सञ्चालक राधा पोखरेलले पदबाट राजीनामा दिएकी छिन् । उनले सोमबार अर्थ मन्त्रालयमा राजीनामा बुझाएकी हुन् । तर, राजीनामा स्वीकृत भएको नभएको विषयमा जानकारी नपाएको उनले बताइन् । स्वास्थ्य समस्याका कारण समय दिन नसकिएकाले राजीनामा दिएको उनले बताएकी छन् ।

पोखरेललाई अर्थमन्त्रीस्तरीय निर्णयअनुसार गत चैत १ गतेदेखि चार वर्षका लागि महिला सञ्चालकमा नियुक्त गरिएको थियो । सरकारले नियुक्त गरेको पाँच महिनापछि उनले राजीनामा दिएकी हुन् । तर बुझिएअनुसार उनलाई अर्थमन्त्री विष्णु पौडेलले राजीनामा दिन भनेका थिए । पोखरेलको नियुक्ति मन्त्रिपरिषद बैठक छलेर मन्त्रीस्तरीय निर्णयमार्फत गरिएको थियो।

सरकारले गत फागुनमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गरेको थियो । तर, उनले पेश गरेका कागजपत्र फर्जी भएको भन्दै अख्तियार र अदालतमा उजुरी परेपछि छानबिन समिति गठन गर्दै मन्त्रालयले उनलाई निलम्बन गरेको छ । सदस्य पोखरेलसँग पनि कार्य अनुभव नभएको बताइन्छ ।

ADVERTISEMENT

बैठकमा सहभागी हुन छोडेकी पोखरेलले केही दिनअघि राजीनामा गरे पनि प्राधिकरणले वेबसाइटमा सञ्चालक समिति सदस्यहरूको विवरण मंगलबार मात्र अध्यावधिक गरेको छ। सञ्चालक समितिमा अध्यक्ष सेवन्तक पोखरेल, सदस्यद्वय मान बहादुर अर्यालय र सन्तोष रिजाल मात्र छन् ।

ADVERTISEMENT

बीमा ऐन २०७९ को दफा ८ मा प्राधिकरणको अध्यक्ष र सदस्यको योग्यतासम्बन्धी प्रावधान छ। बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा स्नातकोत्तर वा सोसरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको हुनुपर्ने मापदण्ड छ। पोखरेलसँग विशाल बजार लिमिटेडको सञ्चालक समितिमा जम्मा दुई वर्ष काम गरेको अनुभव थियो।

ADVERTISEMENT