काठमाडौँ। राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष देवकुमार ढकालले पदभार ग्रहण गर्नुभएको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मत ढकाललाई अध्यक्ष चयन गरेसँगै उहाँले पदभार ग्रहण गर्नुभएको हो ।
पदभार ग्रहणअघि अध्यक्ष ढकालले नेपाल राष्ट्र बैङ्कका गभर्नर डा विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।
ढकालसँग नेपाल राष्ट्र बैङ्कमा ३० वर्षभन्दा बढी समय विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेको अनुभव छ । पछिल्लो समय राष्ट्र बैङ्कको निर्देशकको जिम्मेवारीमा रहेर कार्य गरेका ढकाल वित्तीय प्रणाली, बैङ्किङ प्रशासन तथा नियमन प्रणाली विषयका जानकार हुनुहुन्छ ।
नवनियुक्त अध्यक्ष ढकाललाई बैङ्क सञ्चालक समिति सदस्यहरू महेश भट्टराई, लक्ष्मण घिमिरे, प्राडा रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, डा। सूर्यबहादुर राना, प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, बैङ्कका व्यवस्थापन समितिका पदाधिकारीहरू, कम्पनी सचिव प्रमोद अधिकारी एवं प्रमुख कार्यकारी अधिकृतको कार्यालयका सम्पूर्ण कर्मचारीले स्वागत गर्नुभएको थियो ।
यसैबिच राष्ट्रिय वाणिज्य बैङ्कले ऊर्जा दक्षता उपाय अपनाउने १० उद्योगलाई आर्थिक अनुदान वितरण गरेको छ ।
उक्त बैङ्कले पहिलो चरणमा ऊर्जा अडिटमार्फत पहिचान गरिएका प्रमुख ऊर्जा बचतका उपाय कार्यान्वयन गरेका १० वटा उद्योगलाई करिब दुई करोड ९० लाख रुपियाँ अनुदान प्रदान गरेको हो । पहिलो चरणको अनुदान वितरणसँगै रिप ग्रिन अनुदान सुविधा औपचारिक रूपमा सुरु भएको हो ।






