काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी सरकार औद्योगिक पूर्वाधार विकासमा बाधक नभई साधक बन्ने बताउनुभयो । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ३८ औँ वार्षिकोत्सवलाई बिहिबार सम्बोधन गदै उहाँले आर्थिक उद्यमशीलता भएका स्थानमा रोजगारी सिर्जना हुने उल्लेख गर्दै सरकारले औद्योगिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
लिमिटेडले गरिरहेका कामहरू अझ प्रभावकारी बनाउन एक साताभित्र आगामी वर्षको कार्ययोजनासहित मन्त्रालयमा उपस्थित हुनू, मन्त्री भण्डारीले निर्देशन दिनुभयो ।
उहाँले वार्षिकोत्सव नयाँ आर्थिक वर्षको सुरुवातमै पर्नुले आगामी योजना बनाउन सहज भएको बताउनुभयो ।
मन्त्री भण्डारीले सबै सरकारी संस्थानहरूको कार्यशैली अझ परिणाममुखी हुनुपर्ने आवश्यकता औँल्याउँदै, निजी क्षेत्रको सुझावसहित लिमिटेड, मन्त्रालय र निजी क्षेत्रबीच सामूहिक अन्तरक्रिया आयोजना गरिने जानकारी दिनुभयो ।
उहाँले गुणस्तरहीन वस्तुको आयात रोक्न र स्वदेशी उत्पादनको निर्यात प्रवद्र्धन गर्न सरकार व्यवसायीको साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उद्योग, वाणिज्य तथा आपूर्ति सचिव कृष्णबहादुर राउतले औद्योगिक क्षेत्रलाई सूचना प्रविधिसँग जोडेर आधुनिक, नवीन र प्रतिस्पर्धी बनाउन निजी क्षेत्रसँग सहकार्य अपरिहार्य भएको बताउनुभयो ।
बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अध्यक्ष बाबुराम पन्तले औद्योगिक प्रवद्र्धनका लागि निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढिरहेको संस्थाको कार्यदिशा प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा विभिन्न औद्योगिक क्षेत्रमा योगदान पु¥याउने उत्कृष्ट कर्मचारी र सफल उद्योगलाई सम्मानसहित पुरस्कार प्रदान गरिएको थियो ।




