काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा उच्च गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३५ अंकले घटेर २७२५ बिन्दुमा झरेको छ ।
सोमबार ५० कम्पनीको सेयर मूल्य बढ्दा १९८ कम्पनीको सेयर मूल्य घटेको छ । ३२१ कम्पनीको दुई करोड कित्ता सेयर किनबेच हुँदा आठअर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जबकि आइतबार झन्डै साढे ११ अर्बको कारोबार भएको थियो ।
सोमबार सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्राइस्ट्रक्चर एन्ड डेभलपमेन्टको भएको छ । एनआरएनको ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
बुटवल पावर कम्पनीको ३९ करोड, सानिमा बैंकको २४ करोड, एनआईसी एशिया बैंकको २३ करोड, साहस ऊर्जाको १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबार ३.३७ प्रतिशतले बढेको बैंकिङ समूह आज २.४६ प्रतिशतले घटेको छ। आइतबार माइक्रोफाइनान्स ३.५० प्रतिशतले बढेकोमा सोमबार १.२३ प्रतिशतले घटेको छ। सोमबार हाइड्रोपावर ०.१५ प्रतिशतले बढ्नुबाहेक अरु सबै समूह घटेको छ।
गत साता समग्रमा २७.८४ अंकले बढेको सेयर बजार त्यसअघिको साता १०८.१९ अंकले बढेको थियो। सकारात्मक गतितर्फ लाग्ने संकेत गरिरहेको बजारमा उतारचढावकै अवस्था देखिएको छ।





