काठमाडौं । इँटाभट्टाको टहरामा पढेर एसइई परीक्षामा ४ जीपीए प्राप्त गरेकी भक्तपुर सुडालकी गोमा श्रेष्ठलाई भाटभटेनी समूहका अध्यक्ष मीनबहादुर गुरुङ दम्पतीले एमबीबीएससम्मको अध्ययन गराउने भएका छन्।
बिहीबार गुरुङ दम्पतीले गोमालाई भेटेर बधाई दिँदै आफूहरूले एमबिबिएससम्मको अध्ययन गराउने जिम्मा लिने बताएका हुन् । गोमालाई भाटभटेनीस्थित आफ्नै कार्यालयमा बोलाएर अध्यक्ष गुरूङ र श्रीमती सावित्री गुरूङले एक लाख रुपैयाँ नगद, एउटा ल्यापटप र सम्मानपत्रसहित सम्मान गरेका थिए । गुरूङले गोमालाई अहिले सेन्ट जेभियर्स कलेज माइतीघरमा ११ र १२ कक्षासम्मको अध्ययन पनि आफ्नै खर्चमा गराउने प्रतिवद्धता जनाउँदै त्यसपछि एमबीबीएस तहसम्मको अध्ययनका लागि सहयोग गर्ने बचन दिएका छन् ।
यसअघि कांग्रेस नेता एवं भक्तपुरका सांसद दुर्लभ थापाले गोमाको उच्च अध्ययनको जिम्मा आफूले लिने घोषणा गरेका थिए । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालस्थित एक इँटाभट्टाको जस्ताको टहरामा बस्दै आएकी श्रेष्ठले चाँगुनारायण–८ सुडालको महेन्द्रग्राम माध्यमिक विद्यालयबाट एसइई दिएकी थिइन् । सामुदायिक विद्यालयमा अध्ययन गरेर पनि ४ जिपिए हासिल गरेकी उनी भक्तपुरका ३० सर्वोत्कृष्ट विद्यार्थीमध्ये एक बन्न सफल भइन् भने चाँगुनारायण नगरपालिकाकै सर्वोत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी बनिन् ।
गोमाको थातथलो रामेछापको खनियाँपानी हो । उनी चार वर्षको उमेरमा अभिभावकसँग खनियापानीबाट भक्तपुर आएकी हुन् । परिवारको आर्थिक कमजोर अवस्था र छोरी गोमाको पढाइप्रतिको रुचिका कारण खनियापानी छाडेर भक्तपुरको सुडाल आएको गोमाको बुबा मीनबहादुर श्रेष्ठले बताए । गोमाले अब आफू एमबिबिएस पढेर देश र जनताको सेवा गर्ने बताएकी थिइन् ।






