काठमाडौं । अर्घाखाँचीको सुपादेउराली मन्दिर नजिकै केबलकार निर्माण गरिने भएको छ ।
सुपा देउराली मन्दिरमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी केबलकार निर्माणको प्रक्रिया अगाडि बढाइएको हो । असार १३ गतेको सन्धिखर्क नगर कार्यपालिको बैठकले सुपादेउराली केबलकार प्रालिलाई उद्योग दर्ताका लागि सिफारिस गर्ने निर्णय गरेको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए ।
प्रसिद्ध धार्मिकस्थल सुपादेउरालीमा आउने धार्मिक पर्यटकको सङ्ख्यामा पछिल्ला वर्षमा उल्लेखनीय वृद्धि भएको मन्दिर संरक्षण समितिका उपाध्यक्ष हरि खनालले बताए ।
मन्दिरमा देवीको दर्शन गर्न कपिलवस्तु, दाङ, प्युठान, गुल्मी, रुपन्देहीबाट बढी सङ्ख्यामा पर्यटक आउने गर्छन् । भारतको उत्तर प्रदेश, बिहारबाट समेत धार्मिक पर्यटकहरु सुपादेउरालीमा आउने गरेको वडा नं ७ का अध्यक्ष चुराबहादुर केसीले बताए।





