काठमाडौं । ‘टेक एण्ड पे’ मा सरकारलाई घुँडा टेकाएपछि स्वतन्त्र ऊर्जा उत्पादकहरूको आन्दोलन स्थगित भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत गरिएको ‘टेक एण्ड पे’ पीपीए खारेज भएसँगै इप्पानले घोषणा गरेको आन्दोलन फिर्ता लिएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले असार १० गते प्रतिनिधिसभामा टेक एण्ड पे प्रावधान हटाइएको घोषणा गरेपछि इप्पानले औपचारिक रूपमा बिहीबार पत्रकार सम्मेलनमा गरेर आन्दोलन स्थगनको घोषणा गरेको हो ।

सरकारले जेठ १५ गते बजेटमार्फत ‘रन अफ रिभर’ जलविद्युत आयोजना टेक एण्ड पे आधारमा पीपीए गर्ने नीति ल्याएपछि इप्पानले विरोध गर्दै आन्दोलन घोषणा गरेको थियो।

ADVERTISEMENT

इप्पानले सबै दलका प्रमुख सचेतकहरूलाई म्यासेज गरेर ‘टेक एन्ड पे’ को विरोध गर्न आह्वान गरेको थियो । बजेटमा ल्याइएको व्यवस्थाका कारण विकासका विभिन्न चरणमा रहेका १७ हजार ११७ मेगावाट क्षमताका आयोजना जोखिममा परेका थिए । हाइड्रोपावरमा निजी क्षेत्रबाट लगानी भइसकेको एक खर्ब नौ अर्ब रुपैयाँ डुब्ने इप्पानको भनाइ थियो ।

ADVERTISEMENT

इप्पानले अन्ततः पहिलो चरणको भद्र आन्दोलनबाटै उपलब्धि हासिल गरेको जनाएको छ। इप्पान अध्यक्ष गणेश कार्कीले सरकारको निर्णयलाई स्वागत गर्दै निजी क्षेत्रले अब नेपाल सरकारको ऊर्जा विकास लक्ष्य पूरा गर्न थप लगानी र सहयोग गर्ने प्रतिबद्धता जनाए ।

ADVERTISEMENT