काठमाडौं । काभ्रेका अर्जुन लामा हत्या प्रकरणमा माओवादी उपाध्यक्ष अग्नि सापकोटाविरुद्ध ज्यान मुद्दामा अनुसन्धान हुने भएको छ । सर्वोच्च अदालतले बुधबार उत्प्रेषण आदेश जारी गरी पूर्णिमाया लामाको पक्षमा आदेश सुनाएको हो ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको इजलासमा रहेका न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालको इजलासले यो निर्णय सुनाएको हो । अर्जुनकी श्रीमती पूर्णिमाया लामाले ७ मंसिर ०६९ मा सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
०६९ मा अग्नि सापकोटाविरुद्धको जाहेरीको अनुसन्धान तामेलीमा राख्ने निर्णय भएकोमा उक्त निर्णय उत्प्रेषणको आदेशले बदर भएको हो । यसअघि यो मुद्दामा तीनपटक निर्णय सुनाउने मिति तोकिए पनि सारिँदै आएको थियो । निवेदक पूर्णिमायाका श्रीमान् अर्जुनको तत्कालीन विद्रोही पक्ष माओवादीबाट हत्या भएको विषयमा सापकोटासमेतका विरुद्ध जाहेरी परेको थियो । तर उक्त विषय सत्य निरुपण तथा मेलमिलाप आयोगले हेर्ने भन्दै जाहेरी लिइएको थिएन । यसैविरुद्ध उनले रिट दर्ता गराएकी थिइन् । त्यसपछि बल्ल सापकोटासमेत ६ जनाविरुद्ध जाहेरी दर्ता भएको थियो ।
पूर्वादेशअनुसार नियमित रुपमा प्रगति प्रतिवेदन प्राप्त नभएकाले ‘सम्पूर्ण विवरण खोली जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकबाट जाहेरी दरखास्त र सो सम्बन्धमा हालसम्म भएको काम कारवाहीसम्बन्धी सक्कलै फाइल पेसीको दिन देखाइ फिर्ता लैजानेरगरी झिकाइ आएपछि लगाउका निवेदनहरुसमेत साथै राखी नियमानुसार पेस गर्न’ आदेश भएको थियो । अदालतको यो आदेशसँगै अब सापकोटालाई पक्राउ गरी अनुसन्धान सुरु गर्न प्रहरीलाई बाटो खुलेको छ ।






