वासिंगटन । राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी चार्ली किर्कको स्पष्ट राजनीतिक हत्यापछि विश्व नेताहरूले राजनीतिक रूपमा प्रेरित हिंसाको खतराबारे चेतावनी दिएका छन् ।

केवल ३१ वर्षको उमेरमा रूढीवादी राजनीतिमा उदाउँदो शक्तिशाली स्वर बनेका किर्कलाई युटाको युटाह भ्याली विश्वविद्यालयमा एक कार्यक्रममा बोल्दै गर्दा गोली प्रहार गरिएको थियो । उनको हत्यापछि विश्व नेताहरूले यसरी प्रतिक्रिया जनाएका छन् ।

‘यो अमेरिकाका लागि कालो क्षण हो’, राष्ट्रपति डोनाल्ड ट्रम्पले हत्या भएको केही घण्टापछि ट्रुथ सोसलमार्फत जारी भिडियो सन्देशमा भनेका छन् । उनले किर्कलाई सत्यका लागि शहीद को उपाधि दिँदै भने, ‘मेरो प्रशासनले यस अत्याचारमा संलग्न हुने हरेकलाई पत्ता लगाउनेछ, जसमा यसलाई कोष वा समर्थन गर्ने संस्थाहरू पनि पर्नेछन् ।’

ADVERTISEMENT

क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले एक्समा लेखेका छन्, ‘चार्ली किर्कको हत्याबाट म स्तब्ध छु । राजनीतिक हिंसाको कुनै औचित्य छैन । यसको हरेक कार्यले लोकतन्त्रलाई गम्भीर खतरा पुर्‍याउँछ ।’

ADVERTISEMENT

बेलायती प्रधानमन्त्री किर स्टार्मरले एक्समा भनेका छन्, ‘हामी सबै डरबिना स्वतन्त्र रूपमा बहस गर्न सक्षम हुनुपर्छ । राजनीतिक हिंसाको कुनै औचित्य हुन सक्दैन ।’

ADVERTISEMENT

इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले एक्समा लेखेका छन्, ‘यो नृशंस हत्या लोकतन्त्र र स्वतन्त्रतामा विश्वास गर्नेहरूका लागि गहिरो घाउ हो । उहाँका परिवार, प्रियजन र अमेरिकी रूढीवादी समुदायप्रति मेरो गहिरो समवेदना छ ।’

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भनेका छन्, ‘चार्ली किर्कको हत्या सत्य बोलेको र स्वतन्त्रताको रक्षा गरेको कारणले भएको हो । उहाँ इजरायलका सच्चा मित्र हुनुहुन्थ्यो, जसले झूटविरुद्ध लड्नुभयो र यहुदी–ईसाई सभ्यताका लागि उभिनुभयो ।’