काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशव्यापी रूपमा अनिश्चित कालीन सार्वजनिक तथा ढुवानी यातायात सेवा बन्द गर्ने घोषणा गरेको छ ।
महासङ्घले आइतबार ‘जेन जिन’ समूहले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारको दमनका कारण १९ जना विद्यार्थीको मृत्यु भएको र देशभर जनजीवन प्रभावित भई कर्फ्यु लगाइएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म सेवा सञ्चालन नगर्ने जनाएको छ ।

महासङ्घले मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै महासङ्घले नेपाल सरकारसँग उनीहरूको उपचारको व्यवस्था मिलाउन माग गरेको छ। साथै महासङ्घका सम्पूर्ण सदस्य सङ्घ, समिति, कम्पनी तथा प्रालिहरुलाई घाइतेहरूको उपचारका लागि सक्दो सहयोग गर्न पनि अनुरोध गरिएको छ ।

ADVERTISEMENT

दुःखद घटनाका कारण काठमाडौँ उपत्यका लगायत देशभरको जनजीवन प्रभावित भएको र विभिन्न स्थानमा कर्फयू आदेश जारी भएकोले सार्वजनिक यातायात तथा मालवाहक सवारी साधन सञ्चालन गर्न असहज परिस्थिति सिर्जना भएको जनाइएको छ ।

यसर्थ, नेपाल सरकारबाट उचित शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्मका लागि देशभर यात्रुवाहक र मालवाहक सार्वजनिक यातायातका सवारी साधनहरू सञ्चालन नगर्नरनगराउन महासङ्घले आफ्ना सम्पूर्ण सदस्य सङ्घ, समिति, कम्पनी तथा प्रालिहरुलाई विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।

ADVERTISEMENT