काठमाडौं । निजामती विधेयक पारित गर्दा कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा हेरफेर भएको पाइएपछि छानबिन हुने भएको छ ।
प्रतिनिधिसभाबाट निजामती विधेयक पारित गर्दा कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा हेरफेर भएको पाइएपछि सांसदहरूले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन्। जवाफमा सभामुखले यसमा छानबिन गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले लामो समय छलफल गरेर कर्मचारीलाई अवकाशको दुई वर्षसम्म कुलिङ पिरियड राख्ने सहमति भएको थियो। तर यसम्बन्धी व्यवस्थासहितको विधेयक प्रतिनिधि सभाबाट पारित हुँदा बाहेक भन्ने शब्द राखिएको पाइएपछि सांसदहरूले विरोध गर्दै आएका छन्।
एमाले सांसद पदम गिरीले छानबिन गरेर टुंगो नलागेसम्म राज्य व्यवस्था तथा सुशासन समिति अघि बढ्न नसक्ने बताए। उनले जिम्मेवार व्यक्तिमाथि कारबाही हुनुपर्नेमा जोड दिए।
माओवादी सांसद जनार्दन शर्माले सहमतिभन्दा बाहिर जान नमिल्ने बताए। ‘एउटा सहमति गर्ने अर्को पारित गर्ने त हुनु भएन। यसको छानबिन प्रक्रियामा सभामुखले कस्तो विधि अपनाउनुहुन्छ, यो गम्भीर अपराध हो,’ उनले भने।
कांग्रेसका सांसद्हरू पनि यो घटनालाई गम्भीरतापूर्वक लिएर छानबिन गर्नुपर्ने पक्षमा रहेका छन्। कांग्रेस नेता शेखर कोइराला, चन्द्र भण्डारी, उदयशमशेर राणाले निजामती सेवा विधेयकमा गरिएका अनधिकृत परिवर्तनलाई घोर अपराध भन्दै प्रतिक्रिया जनाएका हुन्।







