काठमाडौं । शनिबार ललितपुरको हरिसिद्धिमा जेब्राक्रसमै बालिकालाई ठक्कर दिएर भाग्ने कोशी प्रदेश सरकार आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरका गाडी चालक छुटेका छन् ।
चौतर्फी दबाबपछि ललितपुर प्रहरीले चालक चन्द्रनारायण चौधरीलाई नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले दुर्घटनापछि गाडीका चालक चौधरीलाई नियन्त्रणमा लिएर प्रहरी प्रभाग बाँडेगाउँमा राखिएको बताए । एमाले नेतासमेत रहेका मन्त्री मगर गोदावरीस्थित पार्टीको विधान महाधिवेशनमा सहभागी हुन जाने क्रममा यो दुर्घटना भएको हो ।
झण्डा हल्लाउँदै गोदावरीतर्फ तीव्र गतिमा हुइँकिँदै गरेको को१झ ६९९ नम्बरको गाडीले हरिसिद्धिकी ११ वर्षीया उषा सुनुवारलाई जेब्राक्रसमा बाटो काट्दै गर्दा ठक्कर दिएको थियो । ठक्करपछि बालिका सडकमै ढलिन् । मन्त्री मगर गाडीको स्पिड थप बढाएर भागेका थिए ।
प्रहरीले चालक चौधरीलाई नियन्त्रणमा लिए पनि मन्त्री मगरलाई भने अहिलेसम्म उन्मुक्ति दिएको छ । प्रहरीले पीडित परिवार र मन्त्रीबीच मिलापत्र गराइसकेको छ । मगरले बालिकालाई उपचारका लागि भनेर २० हजार रुपैयाँ दिएको बताएका छन् । गाडीको ठक्करबाट घाइते भएकी बालिकाको अवस्था अहिले सामान्य छ ।
चालक चौधरीलाई नियन्त्रणमा लिए पनि पीडित पक्षबाट हालसम्म कुनै उजुरी नपरेको एसपी जोशीको भनाइ छ । उजुरी आएमा मात्र अनुसन्धान अघि बढाउने नत्र सामसुम पार्ने प्रहरीको तयारी छ । विदेशमा हिट एन्ड रनमा सिधै पाँच वर्ष जेल हुन्छ । नेपालमा त्यससम्बन्धी कानुन नबने पनि यो ठूलो अपराध हो । अझ मन्त्री जस्तो पदमै बसेकाबाट योसम्मको हर्कत कारबाहीयोग्य हुनुपर्ने सर्वसाधारणको भनाइ छ ।





